नेपाली काँग्रेसका सांसद डा। चन्द्र भण्डारीले जलनका विरामीहरूलाई पनि क्यान्सर रोग सरह नै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
खाना पकाउने ग्याँसको जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो माग गरेका हुन्।
गरिब मानिस नै यसको बढी मारमा पार्ने भएकाले उनीहरूलाई पनि क्यान्सर, मुटु र किड्नी रोगीलाई जस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उनको तर्क थियो ।
सांसद भण्डारीले ग्यास र बिजुली जस्ता विषयवस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
ग्यास बाल्दा, बिजुली बाल्दा, बाटो काट्दा कसरी गर्ने भनेर सात वर्षको बच्चाले थाहा पाउनेगरी पाठ्यक्रममा राखिनुपर्ने उनको भनाइ थियो।
उनले आफू शौभाग्यबस बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरू भन्दा कम नभएको पनि बताए।
उनले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एशियाकै सवल हुने दावी समेत गरे। सांसद भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।