
फिक्कलः इलामको सूर्योदय नगरपालिकामा ‘लम्पि स्किन डिजिज’ रोगबाट २२५ पशुचौपाय मरेका छन् भने करिब ८ हजार संख्यामा प्रभावित भएका छन् । नगरपालिकाले रोग विरुद्धको ४ हजार खोप खरिद गरेको पशु सेवा शाखा प्रमुख विपिन कुमार सिंहले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “हामिले जोर्डन बाट ४ हजार खोप ल्याएका छौँ । टोलटोलबाट तथ्याङ्क संकलन भैरहेको छ । त्यसको आधारमा हालसम्म विरामी नपरेका पशुहरुलाई खोप लगाउँछौँ ।”
गाईभैँसीमा ‘लम्पि स्किन’ भएमा ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा पशुको मृत्यु हुने गरेको छ । किर्ना, भुसाना,झिँगा,लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै छ ।
गत बर्ष छिमेकी जिल्ला झापामा भयावह बनेको यो महामारी यस वर्ष गत असोजदेखि फाट्टफुट्ट देखा पर्न थालेको थियो । शुरुमा इलामको रोङ गाउँपालिकामा देखापरेको ‘लम्पि स्किन’ रोग अहिले जिल्लाका सबै पालिकामा फैलिएको छ । यो रोग लागेपछि पशुलाई सार्वजनिक स्थलमा चरणका लागि लैजान नहुने, अन्य बस्तुभाउको सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गर्ने काम गरेपछि यसको नियन्त्रण हुन सक्ने चिकित्सकले बताएका छन् ।


