फिक्कलः इलामको माईजोगमाई गाउँपालिका २ मा एक पुरुषले श्रीमतीको हत्या गरि आत्माहत्या गरेका छन् । टारसिंहका पिताम्बर खतिवडाले उनकी ५२ वर्षिय जेठी श्रीमती राधिका खतिवडाको हत्या गरि आत्माहत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुखले दिएको जानकारी अनुसार, घटना गएराती भएको र अनुसन्धान शुरु भएको छ । मृतकको १४ बर्षिय छोरी रचना छिमेकीको घरमा सुत्न गएको र घरमा कोही नभएको अवस्थामा बाबुले नै आमाको हत्या गरेको हुनसक्ने रचनाले आशंका ब्यक्त गरेकी छन् । राति आमा चिच्याएको आवाज सुनेपछि उनले छिमेकीमा हल्ला गरिन् । करिब १०ः३० बजेतिर अचानक चिच्याएको आवाज सुनेपछि छिमेकीहरु घरमा गएका थिए । घरमा जाँदा भित्र चुक्कुल लगाएकै अवस्थामा राधिका घरको कोठामा लडिरहेको फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी गोर्खेबाट प्रहरी सहायक निरिक्षक मदन बस्नेतको कमाण्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको थियो । साथै प्रहरी चौकी जौबारीबाट समेत प्रहरी सहायक निरिक्षक धनप्रसाद रिमालको कमाण्डमा दुई जना प्रहरी घटना स्थलमा पुगेको थियो ।श्रीमती राधिकाको घटनास्थलमा नै मृत्यू भएको इलामका प्रहरी प्रमुख दिलिपकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार श्रीमती राधिकाको वाँया गालाको भागमा दुईवटा गहिरो चोट लागेको फेला परेको छ । आमाको हत्या बुबाले नै गराएको हुनसक्ने संका १४ वर्षिय छोरी रचना खतिवडाको बयान आएको प्रहरी प्रमुख घिमिरेको भनाई छ । घटनास्थल सुरक्षित राखिएको छ । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट थप प्रहरी परिचालन गरिएको बताइएको छ ।




