मनोज अधिकारी
फिक्कलः कोशी प्रदेशको पर्यटकीय नगरी इलामको सुर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८०।८१ का लागि एक अर्व २६ करोड २६ लाख ७९ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको अवसर पारेर तहौँ नगरसभाबाट स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यक्रमको अवसरमा साहित्यकार,पत्रकार,कृषक उद्यमी,जग्गादाता, कर्मचारी,उत्कृष्ठ विद्यालय, प्रधानाध्यापक, विद्यार्थी, उपभोक्ता समिति, टोल लगायतका क्षेत्रमा काम गरेका २६ जनालाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री किरातीले पर्यटन विकासको नाममा धरातल भुल्नु नहुने बताउनुभएको छ । पर्यटन प्रवर्धन गर्न निर्माण गरिने संरचनाले पुर्खाहरुको झल्को दिनुपर्नेमा उहाँले जोड दिनुभयो । “विदेशीको कपि गर्ने बानिले हामि बिग्रीरहेका छौँ ।” उहाँले भन्नुभयो, “यहाँको प्रकृती आफैँमा सुन्दर छ । डाँडा डाँडामा भ्युटावर जरुरी छैन । श्रमबाट संरक्षण गरौ , डोजरबाट होईन ।” नेपालको पर्यटन विकासले राज्यलाई ठुलो टेवा पुर्याउन सक्ने भएकाले नीतिगत सुधार गरेर लैजानुपर्ने मन्त्री किरातीको भनाई छ ।



कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर एकका सांसद महेश बस्नेतले इलाम जिल्लाको पर्यटन विकासका लागि थुप्रै कार्यक्रम गर्न आवश्यक भएपनि यस बर्ष बजेट नछुट्टिनु दुखत रहेको बताउनुभयो । उहाँले सम्भावनानै सम्भावना भएको इलामको राजमार्गलाई हेर्ने हो भने अस्तव्यस्त अवस्था रहेको बताउनुभयो। यसलाई व्यवस्थित गर्न आफूले जोड दिइरहँदा पनि बजेटको व्यवस्थापन हुन नसक्नु यहाँका नगरिकका लागि दुखत भएको उहाँको भनाई छ।
सुर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले नगरको विकासका लागि कतिपनि कन्जुस्याई नगरि काम गरिरहेको बताउनुभएको छ । उहाँले हरेक क्षेत्रलाई प्राथमीकतामा राखेर काम गरिरहेको भन्दै यस आवका लागि लम्पि स्कीनले किसानका गाईवस्तुमा पुर्याएको क्षतीपुर्तिका लागि समेत बजेट रहेको हुँदा कृषकलाई नआत्तिन आग्रह गर्नुभएको छ । कार्यक्रममा इलामका स्थानीय तह, सरकारी कार्यलयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

