फिक्कलः इलामको सूर्योदय नगरपालिका—१ सिमधापमा सम्पन्न ४ दिवसीय भलिवल प्रतियोगिताको उपाधी सूर्योदय—३ को ओएसीस जीलले चुमेको छ । नागपञ्चमीको अवसरमा आयोजित समापन खेलमा आयोजक टिम धापलाई लगातार तिन सेटसम्म पाखा लगाउँदै ओएसीस जीलले नगद दश हजार मेडल र प्रमाणपत्र हात पारेको हो ।
उप—विजयी बनेको आयोजक टिमले नगद पाँच हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको ‘वेस्ट लिफ्टर’ जीलका उमेस शर्मा बनेका छन् भने त्रिवेणी युवा क्लबका सौरब शाह ‘वेस्ट प्लेयर’ बनेका छन् । त्यसैगरी मेहेलबोटेका विवेक न्यौपाने ‘वेस्ट स्पाईकर’, आयोजकका प्रनिल वेगा ‘मेन अफ दि म्याच’ र आयोजकका करन लिम्बु ‘यङ प्लेयर ’ बन्न सफल भएका छन् । धाप—धजे खेलकुद समितिले गएको १ गतेबाट शुरु गरेको प्रतियोगितामा नगरपालिका भित्रका आठ टिमले सहभागिता जनाएका थिए । प्रथम हुनेलाई नगद पुरस्कार स्थानीय ब्यवसायी जिवन पान्डेले प्रायोजन गर्नुभएको थियो ।



कार्यक्रमको अवसरमा जनपृय टोलका २० ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर र पौष्टिक खाद्य तत्व वितरण गरेर सम्मान गरिएको छ भने गएको एसईई र १२ कक्षाको परिक्षामा उत्तिर्ण हुन सफल विद्यार्थीहरुलाई नगद र प्रशंसापत्रले सम्मान गरिएको छ । शिक्षिका एनिजा वेगा र आयोजकलाई सहयोग पुर्याउने माईजोगमाई निवासी समाजसेवी विमल राई,पत्रकार लगायत अन्यलाई सम्मान गरिएको छ ।
आयोजक समितिका अध्यक्ष लक्ष्मण मुखियाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सूर्योदय नगर उप—प्रमुख दुर्गा कुमार बरालले खेलकुदको विकास र प्रवर्धन गर्न स्थानीयस्तरमा युवाले गरेको प्रयास प्रशंसायोग्य भएको बताउनुभयो । समाजमा इतिहास बोकेका वृद्ध—वृद्धा देखि विद्यार्थी,शिक्षक र समाजसेवीहरुलाई सम्मान गरिनु आफैमा उदाहरणीय काम भएको बताउँदै उहाँले वडाको विकासमा यसरी नै सबै एकजुट बनेर लाग्न आग्रह गर्नुभएको छ । उप—प्रमुख बरालले ठूलो भुगोल भएका कारण यहाँको सर्वाङ्गीण विकास सहजै सम्भव नभएको बताउनुभयो । उहाँले नगरपालिकाले स्वास्थ्य,शिक्षा,सडक,पर्यटन लगायतका क्षेत्रमा गर्दै आएको प्रयास सुनाउनुभएको छ ।

पछिल्लो समय गाउँमा भलिवल क्रेज बड्दै गएको छ । धापमा हरेक दिन भलिवल खेलको अभ्यास हुने गर्छ । धाप,धजे,मकरजुङ्ग, गोर्खे लगायतका गाउँबाट आफ्आफ्नै टिम बनाएर प्रत्येक दिन अपराह्न यहाँ युवाहरु प्रतिस्पर्धात्मक खेल खेल्ने गरेका हुन् । गएको साउन महिनाबाट स्थानीय सागर पोख्रेलको खाली जग्गामा ग्राउन्ड बनाएर उनिहरुले अभ्यासलाई नियमितता दिन थालेपछि समिति बनाएर खेलको प्रवर्धन गर्ने प्रयास शुरु भएको छ ।

पछिल्लो समय युवाहरु धुम्रपान,मध्यपान जस्ता कुलतमा फस्न थालेपछि खेलकुदको माध्यमबाट सभ्य समाजको निर्माण गर्ने उद्धेश्यले खेल आयोजना गरिएको सल्लाहकार समितिका सागर पोख्रेलले बताउनुभयो । “खेलले मनोरञ्जन मात्र दिँदैन । यसले अनुशासन सिकाउँछ ।” उहाँले भन्नुभयो, “हामीले खेल कम्पाउन्ड भित्र खेल्लाडी वा दर्सक कसैलाई कुनैपनि प्रकारको धुम्रपान तथा मध्यपान प्रयोगमा पुर्ण निषेध गरेका छौँ ।” युवा जमात मोबाईल फोनमा झुन्डिएर बेकामे भईरहेका बेला खेलकुदमा आबद्ध बनाएर शारिरिक तथा मानसिक रुपमा स्वस्थ्य बनाउने र दक्ष खेल्लाडी उत्पादन गर्ने लक्ष्य राखेको आयोजक समितिका अध्यक्ष लक्ष्मण मुखियाले बताउनुभयो ।
गाउँका युवा मिलेर खेलकुदमा यति महत्वपुर्ण प्रयास गरिरहेको प्रति हौसला दिँदै वडाध्यक्ष राजकुमार शेरेङ्गले आगामी दिन वडाले पनि सहयोग गर्ने बताउनुभयो । स्थानीय सरकारले गाउँका युवालाई प्रोत्साहन गर्न सकेमात्र खेलकुद क्षेत्रमा आकर्षण बढ्ने देखिन्छ । खेललाई राष्ट्रिय रेफ्री गणेशमान बेगा र सहायक रेफ्रीमा डिगम आले मगरले सहजीकरण गराउनु भएको थियो । २०६२ सालमा पोखरामा सम्पन्न राष्ट्रियस्तरको भलिवल पतियोगीतामा रेफ्री बन्नुभएका बेगासंग भलिबल खेल अम्पायरको लाईसेन्स समेत छ ।
नागपञ्चमीको अवसरमा सीम धापमा अवस्थित नाग मन्दिरमा पूजा समेत लगाईएको छ । बर्षौँ अघिको ठूलो पोखरी सुकेपछि वस्ती विस्तार भएको धापमा आज पर्यान्त नागको पूजा गर्ने प्रचलन छ । हरेक बर्ष टोलले नाग पूजा आयोजना गर्ने गरेको हो ।

धेरै बर्ष पहिले यहाँ विशाल पोखरी रहेको कथा सुनाउँदै स्थानीय टिकाआङ इम्सङले भन्नुभयो, “यहाँ एउटा यस्तो शक्तिशाली नाग बस्थ्यो रे की जसको छायाँ उ माथी पर्छ त्यो मर्ने गरेकाले धापमा मानिस आवतजावत नै बन्द भएछ ।” उहाँ भन्नुहुन्छ “एकपटक सिक्किमबाट चारजना ढोले लिएर एउटी महारानी आईछन् । उनले पाखरीमा पस्नेबेला भनिन् रे यहाँ सेतो दुध आयो भने म बाँच्छु रातो रगत आयो भने म मर्छु । नाग बाँच्छ । नभन्दै पहिले सेतो दुध बगेछ, एकैछिनमा रगत पनि बगेछ । महारानी पनि मरिन । धापबाट फर्किएका उनका अन्य चार ढोलेहरु सिक्किम नपुग्दै मरिसकेछन् ।”
त्यसपछि स्थानीय विष्णुकान्त पोख्रेलले पाखरीको पानी कुलो खनेर सुकाएपछि कालान्तरमा पोखरी सुकेर खेति हुन थालेको दृश्टान्त इम्सङले सुनाउनुभयो । उक्त इतिहासलाई आत्मसाथ गर्दै धापमा हरेक बर्ष नागको पूजा गरेर आत्मसन्तुष्टि लिने गरिएको स्थानीय सागर पोख्रेलले बताउनुभएको छ ।


