इलामः दक्षिणी इलामको चुलाचुली गाउँमा पूर्वाधार विकासले फड्को मार्न शुरु गरेको छ । झापाको दमक र केर्खा जोड्ने सडक पूर्वाधारसँगै वडाका पर्यटकीय केन्द्र जोड्ने सडक धमाधम कालोपत्रे भइरहेको छ ।
भविष्यमा चुलाचुलीको माथिल्लो भेग भएर जाने निर्माणाधीन मदन भण्डारी राजमार्गमा समेत जोड्ने लक्षसाथ गाउँपालिकाका पाँच वडामा करिव १५ किलोमिटर सडक कालोपत्रे भइसकेको वडा २ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठले बताए ।
उनका अनुसार गाउँपालिकाले आन्तरिक स्रोत र राष्ट्रिय योजना आयोगको समपूरक कोष, संघीय सरकार र प्रदेश सरकारको सहयोगमा ती सडक निर्माण गरेको हो ।
गाउँपालिकाको वडा नम्बर १ मा एक किलोमिटर, २ मा सात सय मिटर, ३ नमा डेढ किलोमिटर, ४ मा ३ सय मिटर, ५ मा डेढ किलोमिटर सडक गत वर्ष कालोपत्रे गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।
हिमाली मार्गअन्तर्गत वडा २ मा सडक कालोपत्रे भइरहेको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा ६० लाख लागतमा कालोपत्रे सडक निर्माण भएको हो ।
बाह्रगोेठे हुँदै तीन नम्बर वडा कार्यालय र तीनकुने सीमसार क्षेत्रलाई उक्त कालोपत्रे सडकले जोडेको छ । चालु आवमा हिमालीमार्ग सडक कालोपत्र थप गर्न ९७ लाख ५० हजार बजेट विनियोजन भएको छ ।
सडक कालोपत्रे भएपछि स्थानीयलाई अस्पताल, विद्यालयजान सजिलो भएको स्थानीय प्रदीप फुएलले बताए । वडा सदस्य हर्क लिम्बुले तीनकुने पोखरीमा पर्यटक आवतजावत गर्न सडकले सघाउ पुर्याएको जानकारी दिए ।
वडा ५ का वडाध्यक्ष बविन राईले २०७९ को स्थानीय निर्वाचनपछि बनेको गाउँ सरकारको पहिलो प्राथमिकता सडक पूर्वाधार रहेको बताए । चुलाचुली बासीले कालोपत्रे सडक हेर्न झापा जानु पर्ने गरेको भए पनि स्थानीय सरकारले पछिल्लो समय गाउँमा नै कालोपत्रे सडक पुर्याएको उनको भनाई छ ।
पछिल्लो पटक स्थानीय सरकारले कालोपत्र सडक विकास गर्न सुरु गरेको उनले जानकारी दिए । वडा ५ कै कोलडाँडा शिखरकटेरी सडक, चपेटी रत्नचोक सडक खण्ड पनि कालोपत्रे भइसकेको छ ।
वडा ३ मा गाउँपालिका भवनदेखि मिलनचोक जाने सडक कालोपत्रे निर्माण सम्पन्न भएको छ । किराँतेश्वर विद्यालय जाने सडक कालोपत्रे भएको छ । वडा एकमा किराँत माङ्हिम बागद्धार सडक कालोपत्र निर्माण भएको उनले बताए ।
गाउँमा रहेका सबै मुख्य सडक कालोपत्रे गरेर गाउँका जनतालाई सुविधा सम्पन्न सडकमा आवतजावत गर्न सजिलो बनाउने गाउँपालिकाको उद्देश्य रहेको वडाध्यक्ष राईले बताए ।
झापामा रहेको पूर्व पश्चिम राजमार्ग र चुलाचुलीको माथिल्लो क्षेत्रमा निर्माण भइरहेको मदन भण्डारी राजमार्गलाई जोड्ने उत्तर दक्षिण सडक निर्माणलाई प्राथमिकता दिइएको उनको भनाई छ ।
चुलाचुली गाउँपालिकाको विकट मानिएको साकफारा क्षेत्रमा समेत कालोपत्र सडक निर्माणका लागि ठेक्का बन्दोबस्ती भएको गाउँपालिकाले जानकारी दिएको छ ।
वडा ६ को संगमचोकदेखि मीक्लाजुङ कुइनेटार ९खुँडी० सम्म डेढ किलोमिटर सडक चालु वर्षमा नै कालोपत्रे हुने बताइएको छ । करिब २ करोड १० लाखमा सडक कालोपत्र निर्माणका लागि ठेक्का सम्झौता भइसकेको गाउँपालिकाले जानकारी दिएको छ । यहाँ रहेको खुँडी पर्यटन क्षेत्रमा सडक कालोपत्र निर्माण भएपछि गाउँपालिकाका सवै ६ वडामा कालोपत्र सडक निर्माण हुने छ ।