इलाम अस्पतालमा सय्या अभाव, भुईँमा राखेर बिरामीको उपचार

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः बिरामीको सङ्ख्यामा वृद्दि भएपछि इलाम अस्पतालमा सय्या अभाव हुँदा भुईँमै राखेर उपचार गर्न थालिएको छ । पछिल्लो समय अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि सय्या अभाव भएको हो । अस्पतालको इमरजेन्सीमा आएका बिरामीलाई बेड अभाव हुँदा भुईँमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

अहिले दैनिकजसो ७० देखि ८० जनाको सङ्ख्यामा इमरजेन्सीमा बिरामीहरू आउने गरेको इमरजेन्सी इन्चार्ज टीका लुइँटेलले जानकारी दिनुभयो । डेङ्गु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामीको चाप रहेको लुइँटेलले बताउनुभयो । ‘जीउ दुख्ने, हातखुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षणहरू हुन्छ’ लुइँटेलले भन्नुभयो, ‘अस्पतालमा राखेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुईँमै भए पनि उपचार गरिरहेका छौँ ।’

अस्पतालको ओपिडीमा पनि दैनिक तीन सय ७५ जनासम्म बिरामी आउनेगरेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताउनुभयो । ‘इमरजेन्सीमा जम्मा ११ वटा मात्र बेड छन् । इमरजेन्सीमै आएका बिरामीलाई बेड नपुगेपछि भुईँमै राखेर पनि सेवा दिइएको छ’ व्यवस्थापक खतिवडाले भन्नुभयो, ‘ओपिडीमा पनि बिरामीको सङ्ख्या थामिनसक्नु छ । जसोतसो धान्नु परेको छ ।’

खतिवडाका अनुसार गत साउन महिना र भदौ १० गते सम्ममा जाँच गराउने आउनेमध्ये ४१ जनामा डेङ्गु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्कपटाइफस देखिएको छ । यीमध्ये डेङ्गुका १० जना र स्कपटाइफसका पाँच जना बिरामी भने अस्पतालमै भर्ना भएर उपचार गराएका छन् ।

जिल्लाको फाकफोकथुम गाउँपालिका बाट उपचारका लागि आउनुभएका माया थेवेले बेड नपाउँदा असहज भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ज्वरोले सिकिस्त पारेर अस्पताल आएको भुईँको चिसोले ज्यानै लैजाला जस्तो छ ।’

यति धेरै बिरामीको चाप रहे पनि उपचार गर्न आउनेलाई अस्पतालमै उपचार गरिरहेको र अन्यत्र रेफर भने गर्नु नपरेको जनाइएको छ । जिल्लामा अहिलेसम्म २०३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय