इलामः यसवर्षको आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार इलामका पत्रकार ज्ञानु केदेमले पाउने भएका छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजको २४ औं स्थापना दिवसको अवसरमा सोमबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी केदेमलाई पुरस्कृत गरिने फोनिज इलामले जनाएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजले स्थापना गरेको सो पुरस्कारको राशी नगद १० हजार रहेको छ ।
विगत डेढ दशकदेखि इलामे पत्रकारितामा क्रियाशील केदेम नेपाल पत्रकार महासंघ इलामका सहसचिव एवम् फोनिज प्रदेश १ का कार्यसमिति सदस्य हुन् । हाल इलामको माङसेबुङबाट प्रकाशित माङसेबुङ मासिक म्यागजिनका उपसम्पादक हुन् ।
फोनिज इलामले स्थापना गरेको सो पुरस्कार दोस्रो पटक वितरण गर्न लागेको हो । यसअघि सो पुरस्कारबाट अग्रज पत्रकार सटेन्द्र बजेगू पुरस्कृत भईसकेका छन् ।
पुरस्कार व्यवस्थापन गर्नका लागि फोनिज इलामले आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी पुरस्कार कोष स्थापना गरेको थियो । सोही पुरस्कार कोषबाट बर्सेनि एकजना आदिवासी जनजातिको क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कार वितरण गरिने फोनिज इलामले जनाएको छ ।
फोनिज इलाम शाखाको साधारण सदस्य भई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यकरलोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेखरआलेख, वहसरपैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने इलामेली आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गरिने फोनिजले जनाएको छ ।