फिक्कलः इलामको सुर्योदय नगरपालिका—७ स्थित कन्याममा देशकै पहिलो ‘टी टेस्टिङ्’ सहितको अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । उक्त ‘टी टेस्टिङ्’ सेन्टर सहितको अनुसन्धान केन्द्र निर्माणका लागि कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाले लगानी गरेका थिए ।
विदेशी चिया पारखीलाई लक्षित गरी बनाईएको अनुसन्धान केन्द्र १३ करोड ६५ लाखको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष सुवेदीले जानकारी दिनुभयो । इन्जिनियर सुवेदीका आर्थिक वर्ष २०७६९०७७ मा सुरु भएको अनुसन्धान केन्द्रको निर्माण दुई चरणमा गरेर सम्पन्न भएको हो ।
पहिलो चरणमा आर्थिक वर्ष २०७६९०७७ मा भवन निर्माणको काम आशिष र आशीर्वाद जे।भीले ठेक्का लिएको थियो । दोस्रो चरणमा भित्री डिजाइनसहितको काम सूर्योदय र फाल्गुनन्द जेभीले ठेक्का सम्झौता गरेको थियो । सुवेदीका अनुसार अब सेन्टरसम्म पुग्ने सडक कालोपत्रेसहितको थोरै काम बाँकी रहेकाले उक्त काम सक्नका लागि ठेक्का प्रक्रियामा छ ।
सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आर्थिक वर्ष २०८०९०८१ मै टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेका काम सम्पन्न गर्नासाथ केन्द्र सञ्चालनमा आउँछ ।”
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र निर्माणले सूर्योदयको मात्र नभई देशकै लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले देशमै पहिलो पटक टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको बताउनुभयो । नगरप्रमुख राईले उक्त स्थानमा चिया सङ्ग्राहलय, चिया टेस्टिङ, चिया बिक्री कक्ष, गेष्टहाउस र सभाहल रहेको जानकारी दिनुभयो । विदेशी चिया पारखीका लागि उक्त स्थानमा नगरले सुविधा सम्पन्न गेष्ट हाउस सञ्चालन गर्ने भएको छ ।
नगरप्रमुख राईले भन्नुभयो, “चियाको स्वाद चाख्न आउने चिया पारखी र चियाको अनुसन्धान गर्नका आउनेका लागि अब गर्विलो ठाउँ तयार भयो ।” नगरप्रमुख राईले उक्त केन्द्र निर्माणले नगरको आन्तरिक आम्दानीसमेत बढ्ने बताउनुभयो । उक्त केन्द्रमा दाम बढेको आधारमा स्वदेशी तथा विदेशी चिया पारखीले चिया खरिद गर्न सक्नेछन् । चियाको अनुसन्धान गर्न आउनेका लागि चियासम्बन्धी सबै जानकारी उक्त अनुसन्धान केन्द्रमा राखिनेछ ।
सूर्योदय नगरपालिकाको अधिकांश भूभाग चियाले ढाकेको छ, जसले गर्दा यस नगरलाई चियाको राजधानी भनिन्छ । कोशी प्रदेशको पर्यटकीय नगरी सूर्योदयका अधिकांश मानिस चिया खेतीमा आबद्ध छन् ।