
मनोज अधिकारी
फिक्कल०ः इलाम क्षेत्र नं २ का संघीय सांसद एवंम पूर्वसभामुख सुबासचन्द्र नेम्वाङको निधनले इलाम शोकमग्न भएको छ । नेम्वाङको निधन भएको खबर पाएसंगै जिल्ला तहका विभिन्न रनजनीतिक दल,नेताहरु,सामाजिक अभियान्ता,विद्यार्थी लगायतले दुःख ब्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपुरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।
इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताउनु भयो । उहाँले देश र जनताका लागी पुर्याउनु भएको योगदान अतुलनिय हुने भन्दै बस्नेतले देशले नै शोक मनाई रहेको बताउनु भएको छ ।



गएको आमनिर्वाचनमा नेम्वाङसंग थोरै मतान्तरले पराजित हुनु भएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उहाँलाई इलामले संधै सम्झिरहने बताउनु भयो । “पटकपटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाईले इलामको चौतर्फी विकासमा ठुलो योगदान दिनुभएको छ ।” उहाँले भन्नुभयो, “इलामका बालबच्चा देखि वृद्धवृद्धा सम्म सबैको संधै प्रिय भएरै बिदा हुनुभयो ।”
“उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता ह्नुहुन्थ्यो ।” नेकपा एकीकृत समाजवादी इलामका अध्यक्ष भक्त केसीले भन्नुभयो, “उहाँको अभाव नेपाली राजनीतिमा संधै खड्कने छ ।”
सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाको सासद, ईलामको मात्रै नभई सम्पूर्ण नेपालीहरूको अभिभावक भएको बताउँदै राजनैतिक आस्था, त्याग र समर्पणको त्रिवेणीका रुपमा सम्झनु भएको छ। “उहॅाको असामयिक निधनको खबरले सम्पूर्ण नेपाली भावविह्वल भएको छ।” सामाजिक सन्जालमा उहाँ लेखनुहुन्छ,“आदणीय सुबाई दाई तपाईलाई म भावपूर्ण श्रद्धान्जली मात्रै भन्न सके। भावपूर्ण श्रद्धान्जली आदणीय दाइ।”
माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेबेले भन्नुभयो, “उहाँले देखाउनु भएको बाटोमा इलाम अघि बढ्नेछ । उहाँले पुरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पुरा गर्नुपर्छ ।”
राजजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीहरु समेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भन्नुभयो, “म धेरै राजनीति त जान्दिन तर उहाँको ब्यक्तित्वबाट प्रभावित थिएँ । एका बिहानैको खबरले स्तब्द भएँ ।”
२०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आउनु भएका उहाँ हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत हुनुहुन्थ्यो। राष्ट्रिय रानितिमा इमान्दार छवि बनाउनु भएका नेम्वाङ सधैँका लागि अस्ताउनु भएको छ । गएराति १ बजे हृदयघात भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले बताउनु भयोे । उहाँका अनुसार नेम्वाङको शव भोलि ९बुधबार० सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको सांसद् बस्नेतले बताउनुभयो ।
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनु भएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आउनु भएको हो । २०३३ सालमा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नुभयो।
२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य हुनुभएका उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बन्नु भएको थियो।
२०५६ को निर्वाचन जितेर उहाँ सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आउनु भयो ।
उहाँ जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बन्नुभएको थियो । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनुभएको थियो। चारपल्ट सभामुख बन्दा उहाँ सधैं सर्वसम्मत नै बन्नुभयो ।