
मनोज अधिकारी
फिक्कलः इलामको अधिकांश टोलमा दुई दिन यता श्रद्धाञ्जली सभा जारी छ । इलाम क्षेत्र नं २ का संघीय सांसद सुवासचन्द्र नेम्वाङको मंगलबार निधन भएपछि शोकमग्न भएको इलाममा दश वटै पालिकाका प्रत्येक टोलमा श्रद्धाञ्जली सभा भैरहेको हो ।
एमाले इलामका उपसचिव रविन्द्र सुवेदीका अनुसार काठमाडौँ पुग्न नसकेका इलामेहरुले आफ्आफ्नो टोलमा श्रद्धाञ्जली सभाको आयोजना गरि नेम्वाङलाई सम्झिएका हुन् । सूर्योदय नगरपालिका—१ मा पार्टी वडा कमिटिले आयोजना गरेको सभामा गाउँका सबैजसो भेला भएको इन्चार्ज अमृत पाण्डेले बताउनु भएको छ । उहाँ भन्नुहुन्छ, “गाउँमा सबै निरास छन् । काम गर्ने उत्साह मरेको छ । साँच्चै शोकाकुल छ गाउँ ।”



माङसेबुङका सरोज राईका अनुसार नेम्वाङलाई श्रद्धाञ्जली दिन कांगेसका पुराना कार्यकर्ता समेत टोलमा भेला भएका थिए । माओवादी आन्दोलनका कमान्डर,नेकपा एसका पालिका कमिटि सदस्य, राप्रपाका जिल्ला तहका नेता समेतले हाम्रो टोलमा आयोजित श्रद्धाञ्जली सभामा आएर तस्विरमा माल्यार्पण गर्नुभयो । उहाँले भन्नुभयो, “देशले राजनेता गुमायो । इलामले अविभावक गुमायो । हाम्रो पार्टीको त मियो नै ढल्यो ।”
एमालेका पुराना कार्यकर्ता सन्दकपुर गाउँपालिका—४ का कृष्ण पाठक नेम्वाङको निधन अप्रत्यासित भएको बताउनुहुन्छ । नेम्वाङलाई पाँच पटक जिताउन आफुले हरेक पटक भोकै हिँडेको बताउँदै कसैले नेम्वाङ माथी प्रश्न उठाउन नसकेको बताउनुहुन्छ । “उहाँप्रति क्षमताको प्रश्न गर्ने कोही थिएनन् ।” उहाँले भन्नुभयो, “भोेट माग्न जाँदा कांग्रेसका कट्टर कार्यकर्ताहरु पनि सम्भावना भएको नेता हो तर हामी भोट हाल्न सक्दैनौ भन्थे ।”
नेपाली कांग्रेस इलामका नेता बेनुपराज प्रसांईले राजनीति गर्छु भन्नेका लागी नेम्वाङले सरलता,नम्रता र शिष्टता सिकाएर गएको बताउनु भएको छ । आफुहरु बाल्यकालको सखा भएको बताउँदै उहाँले नेम्वाङको ब्यक्तित्व बाट आफु संधै प्रभावित भएको बताउनु भयो । “अर्को तिर ध्यान गएकै छैन । दिनैभर टिभि हेरेँ वास्तवमा राज्यले उनलाई सम्मानजनक विदाई गर्यो, जो जरुरी थियो ।”
बिहिबार दिउँसो काठमाडौँ स्थित पशुपति आर्यघाटमा स्व.नेम्वाङको शव जलिरह्यो । संविधान सभाका अध्यक्षको राजकीय सम्मानका साथ अन्तिम विदाई भैरहँदा गृह जिल्लाका नेता कार्यकर्ता देखि सर्वसाधारण सम्मको ध्यान अन्यत्र गएन । कोही टोलमा आयोजित शोकसभामा श्रद्धाञ्जली दिन पुगे । कोही टेलिभिजनको पर्दामा प्रत्यक्ष प्रसारण हेरेर भावविह्वल भए । राजनीतिज्ञ लगायत किसान,विद्यार्थी,ब्यापारी सबै भावुक थिए । “नेम्वाङका छोराले दागबत्ति दिएको दृश्य हेर्न सकिन ।” इलामकी फुलमाया अधिकारीले भन्नुभयो,“अब त कहिल्यै नफर्किने गरि गए । पटकपटकको निर्वाचन विजय उत्सवमा भेट हुँदा फुलमाया नारा लगाउ भन्नुहुन्थ्यो । इलामले खै अब त यस्ता नेता कहिल्यै पाउँदैन होला ।” नेम्वाङ पाँच पटक संसदिय निर्वाचनमा इलामबाट विजयी बन्नु भएको थियो ।