समृद्ध नेपाल निर्माणले मात्र बुवाप्रति श्रद्धाञ्जली मिल्छः सुहाङ नेम्वाङ

द्वारा प्रकाशित गरिएको हो |
२०८० आश्विन २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
फिक्कलः संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङका कान्छा सुपुत्र सुहाङ नेम्वाङले समृद्ध नेपाल निर्माण भएमा मात्र बुवाप्रति श्रद्धाञ्जली मिल्ने बताउनु भएको छ । गृह जिल्ला इलाममा आयोजित स्व. नेम्वाङको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सुहाङले संविधानको रक्षा र बलियो लोकतन्त्रको जगमा समृद्ध नेपाल निर्माण भएको दिन आफ्नो बुवालाई सम्मानका साथ श्रद्धाञ्जली मिल्ने बताउनुभयो ।

“लोकतन्त्र र संविधान निर्माणका अटल हिमायती मेरा बुवाप्रतिको वास्तविक सम्मान र श्रद्धाञ्जली नै समृद्ध नेपाल निर्माण हुनु हो ।” उहाँले भन्नुभयो,“ “देशमा लोकतन्त्र बलियो बनाउन संविधानको रक्षा गर्न र मानव अधिकार सुनिश्चित गराउन बुवाको अतुलनिय भुमिकाले पनि त्यही दिन साकार रुप लिनेछ ।”

आफ्नो बुवालाई पाँच पटक निर्वाचित गराएकोमा इलाम क्षेत्र नं २ का जनतालाई सुहाङले धन्यवाद दिनुभएको छ । विजय उत्सवमा बालबच्चा देखि वृद्ध–वृद्धा सम्मले हर्ष उल्लासका साथ सहभागि भएको सम्झँदै उहाँले उक्त क्षणलाई विगतको मिठो पलका रुपमा स्मरण गर्नुभयो । इलामले बुवालाई दिएको सम्मान कहिल्यै भुल्न नसकिने उहाँको भनाई छ ।

मन्तब्यको शुरुवातमै भावुक बन्नुभएका सुहाङले दैवले अन्याय गरेको भन्नुभयो । “दैव छन् वा छैनन् मलाई थाहा छैन । यदि छन् भने दैवले अन्याय गर्यो ।” उहाँले भन्नुभयो, “हामी टुहुरो मात्र भएनौ, देशको आशाको दियो निभ्यो ।”

मुलुकको सुन्दर भविष्य निर्माण गर्ने बुवाको सपना साकार पार्न आफु लागिपर्ने सुहाङको प्रतिबद्धता छ । उहाँ भन्नुहुन्छ, “बुवाको बाँकी जिम्मेवारी पुरा गर्न म लाग्नेछु ।”

नेकपा एमाले कोशी प्रदेश कमिटिको आयोजना तथा जिल्ला कमिटि इलामको संयोजनमा इलाम चोक बजारमा मंगलबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । सभालाई नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादल, नेता रगुविर महासेठ,डा.सिवमाया तुम्बाहाम्फे,एमाले इलामका अध्यक्ष महेश बस्नेत,काग्रेस इलामका पूर्व अध्यक्ष हिमालय कर्मचार्य,नेकपा एकीकृत समाजवादीका इलाम अध्यक्ष भक्त केसी,माओवादी केन्द्रका कान्छा लावती,इलाम नगरपालिकाकी उपमेयर विष्णु कुमारी दाहाल,बार एशोसिएसनका अध्यक्ष उत्तम पौडेल,नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई लगायतले स्वं नेव्वाङप्रति श्रद्धाञ्जली मन्तब्य राख्नुभएको थियो ।

पार्टीको कोशी प्रदेश कमिटि अध्यक्ष तुलसी न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय