मनोज अधिकारी
फिक्कल, राजेगारीको शिलशिलामा भारतको सिक्किम पुगेका इलामका ५ युवा गत असोज १७ गतेबाट बेपत्ता भएका छन् । इलाम नगरपालिका–९ गोलाखर्कका ४० बर्षीय सेन बहादुर कार्की (सानु), ३० बर्षीय लाक्पा शेर्पा, २८ बर्षीय नरमाया बस्नेत, ९ बर्षीय खुशी बस्नेत र २८ बर्षीय कुमार बस्नेत ८ दिन यता सम्पर्क बिहिन भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभएको छ ।
असोज १६ गते मंगलबार रातीबाट सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे बर्षा भएपछि लाचेन उपत्यकाको टिस्टा नदीमा एकाएक पानीको सतह बढेको बीबिसीको समाचारमा उल्लेख छ ।
सोही दिनदेखि इलामका ५ जना सम्पर्कबिहिन भएपछि परिवारमा त्रास बढेको छ । ‘टिस्टामा आएको बाढीपछि उनिहरु परिवारको सम्पर्कमा छैनन् ।’ स्थानीय विक्रम फियाकले भन्नुभयो, ‘सरकारबाट तदारुकताका साथ खोजि आवश्यक भयो ।’
त्यस स्थानमा बाढीका कारण टेलिफोन,विद्युत सबै अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभएको छ ।
जिल्ला प्रशासनले भारतिय एसएसवीलाई पत्राचार गरिसकेको छ । ‘सिक्किमका मिडियामा पनि हामीले खबर गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘सिक्किमको एसएसवी मार्फत समन्वय भैरहेको छ ।’ त्यहाँका एक प्रहरीले दिएको अनौपचारिक जानकारी अनुसार नर्थ सिक्किमको उक्त लाचेन क्षेत्र सुरक्षित नै रहेको पोखरेलले बताउनुभयो ।
इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले बाढीले नै बगाएको भन्न नसकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सम्पर्कमा नआएकाले खोजी कार्य शुरु भैसकेको छ । तर,उहाँहरु बाढी प्राभावित क्षेत्र भन्दा केही पर रहेकाले सुरक्षित नै हुनुहुन्छ होला भन्ने आशा राखेका छौँ । टेलिफोन अवरुद्ध भएकाले सम्पर्क नभएको हुनसक्छ ।’
बीबिसीका अनुसार, बुधबार विहान ६ बजे केन्द्रिय जल विभाग सिडब्ल्यूसिको मेली केन्द्रमा जल सतह प्रतिसेकेन्ड १५ मिटरको उच्च गतिमा बढ्दै गएको थियो । र, खतराको तहभन्दा तीन मिटर बढेको थियो ।
सीडब्ल्यूसीका अनुसार,अधिकारीहरुले केही सैन्य गाडी हिउँको लेदोमा डुबेको बताएका थिए । धरै बस्तिहरुमा बाढी पसेको,घरहरु भत्किएको र मानिसहरु विस्थापित भएका छन् । प्रभावित क्षेत्रमा ३ हजार भन्दा धेरै पर्यटक रोकिएका छन् । बाढीका कारण २२ जना सैनिक सहित कम्तिमा १०५ जना हराईरहेको अधिकारीहरुले बताएका छन् ।