इलामः नेपालमा प्रतिबन्धित विदेशी नोट र सामानसहित तीन भुटानी नागरिक नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरमा पक्राउ परेका छन्। सशस्त्र प्रहरीको गस्ती टोलीले भारततिरबाट पैदल आउँदै गरेका उनीहरूलाई पशुपतिनगरको चारमाइल नजिकैबाट पक्रेको सूर्योदय २ का वडासदस्य उपेन्द्रराज पाण्डेले बताउनुभएको छ ।
पक्राउ पर्नेमा भुटानको चिराङ जिल्लाका अन्दाजी ४४ वर्षे फौदसिंह राई, त्यही जिल्लाका अन्दाजी २० वर्षे विशाल राई र सर्वङ्ग जिल्लाका अन्दाजी ४५ वर्षे धनकुमार राई रहेको स्रोतले जनाएको छ।
उनीहरूको साथबाट सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्धित सामान र विदेशी नोटसमेत बरामद गरेको छ। वडासदस्य पाण्डेका अनुसार उनीहरूबाट चार लाख २५ हजार रुपैयाँ बराबरको भारतीय नोट र अन्य सामान, तीन हजार सात सय ५६ का भुटानी नोट तथा दुई थान भुटानी राहदानी बरामद गरिएका छन्।
‘पक्राउ व्यक्तिको साथमा भुटानी राहदानी छ तर भारतीय नोट ठूलो मात्रामा छ,’ स्रोतले भन्यो, ‘यसअघि पनि उनीहरू केही पटक झापाको काँकडभिट्टा भएर नेपाल छिरेको देखिन्छ।’
पक्राउ व्यक्ति र सामान सशस्त्र प्रहरीले इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ।