इलामः कलाकार रमेश दुलालले काठमाण्डौमा काग सम्मेलन गरेका छन् । उनले रत्नपार्कमा काग सम्मेलन गरेका हुन् । उनको यो २० औँ काग सम्मेलन हो ।
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएको दिन काग तिहार पर्दछ । उनले पनि काग तिहारकै दिन काग सम्मेलन गरेका हुन् । दुलालले १ सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने गरेका छन् ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलन बिहान गरिएको थियो । करिब ४० मिनेटसम्म उनले कागलाई बोलाएका थिए र सयौं काग एकै ठाउँमा झुम्मिएका थिए । बिगत १९ बर्षदेखी यसरी नै बिभिन्न ठाउँमा काग सम्मेलन गर्दै आएको उनले बताए ।
बिशेषगरी तिहारको परम्परालाई जोगाई राखौं र सकारात्मक सन्देश दिन पनि काग सम्मेलन गर्ने गरिएको उनको भनाई छ । रत्नपार्क क्षेत्रमा पहिलेका बर्षहरुमा जस्तो कागको संख्या नभएको उनको भनाई छ ।
दुलालले काग सम्मेलन पहिलो बर्ष पश्चिम धनगढीबाट सुरु गरेका थिए । दाङ र ईलाममा केहि बर्ष काग सम्मेलन गरेपछि काठमाडौंमा गर्न थालेको बताए ।
आफूले सपनामा काग कराएको देखेपछि बिपनामा पनि काग कराउन थालेको र प्रत्येक बर्ष काग तिहारमा काग जम्मा पार्ने गरेको उनको भनाई छ । कागको शुभ र अशुभ खबर हुने उनको दावी छ ।
कागलाई शुभ खबरले बोलाउँदा आउँदैन र अशुभ खबरले बोलाउँदा आउने गरेको उनको अनुभव छ । कागको भाषा बुझेर बोलाउँदा काग जम्मा हुने गरेको उनी बताउँछन् ।
यसबर्ष ह्याम्स हस्पिटल काठमाडौं र सन्दकपुर गाउँपालिका इलामले कार्यक्रमको सह आयोजना गरेको हो ।