खेतमा काम गर्न जनशक्ति अभावः किसानलाई धान थन्क्याउने चटारो

द्वारा प्रकाशित गरिएको हो |
२०८० मंसिर ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्कलः दँशै,तिहार सकिए लगत्तै किसानलाई धान थन्क्याउने चटारो शुरु भएको छ । “कात्तिक पहिलो साता नै पाकेको धान दँशै तिहारले गर्दा काटिएन ।” फाकफोकथुम गाउँपालिका–३ का सन्त लुङ्गेली भाईटिकाको साँझ हातमा हँसिया बोकेर धान काट्न खेतमा पुग्नुभएको थियो । उहाँ भन्नुहुन्छ, “आजकाल गाउँमा काम गर्ने मान्छे पाउन नै मुस्किल छ । चाडपर्व पनि यहिबेला, अर्कोतिर पानी परेर क्षति गर्ला भन्ने पीर छँदैछ । आज एक गरो भएपनि काट्दै गर्छु ।”

खेतमा सुन झैँ पहेँलो धानका बाला झुलिरहेका छन् । किसानलाई चाडपर्वको ब्यस्तताले बल्ल छोड्यो । बादल छाएर आकाश अँध्यारो छ । गाउँमा काम गर्ने मान्छे पाउन मुस्किल हुन थाल्यो । पाकेको धान थन्क्याउन जनशक्ति अभावले समस्या छ । धेरै जनाले खेति मासेर अम्रिसो र रुख लगाएका छन् ।

सोही वडाका चन्द्र पाण्डेका अनुसार, गाउँका अधिकांश युुवाशक्ति विदेश गएका छन् । “७० बर्ष कटेका बुढाबुढी र विद्यालय जाने बालबालिका बाहेक काम गर्ने मान्छे त दुई चार जना होलान् ।” उहाँ भन्नुहुन्छ, “थन्क्याउने बेला मात्र होईन रोप्ने बेलापनि मान्छेको यस्तै हाहाकार हुन्छ । पाहोर भन्दा यो साल आधा किसानले खेती लगाएनन् ।”

बल्लतल्ल रोपेको धान कहिले पहिरोले पुरिदिन्छ त कहिले बाँदरले उपद्रो मच्चाएर हैरान पार्छ । रेनुका भण्डारीले लगाएको दुई रोपनी खेत साउनको पहिरोले बगायो । उहाँले भन्नुभयो, “बचेको धान समेत बाँदरको हुल पसेर असोजमै सखाप पार्यो । एक दुई गरो बाँकी छ । भोलि काट्नु छ ।”

असारमा मानो खाएर मङ्सिरमा मुरी उब्जाएका किसानलाई बर्षभरि खाने धान भकारीमा थन्क्याउन जति खुसी छ । उति नै पिरलो छ । धुमिल मौसमका सामु उज्यालो चेहेरा देखाउँदै खुसी ढुङ्गानाले भन्नुभयो, “अब बिटा बोकिन्छ ।”

बाँदर ब्यवस्थापनमा सरकारले कुनै प्रयास नगरेपछि आजित भएका किसानले स्थानीय सरकारबाट समेत धान खेतीमा न बिउ बिजन अनुदान पाएका छन् । न त खेत जोत्ने हाते ट्याक्टरमा सहुलियत । किसानलाई तिनै तहका सरकारले साथ नदिएको पत्रकार भगिरथ भण्डारीको भनाई छ । सिंचाई,मलजल,बिउबिजन,आधुनिक उपकरण जस्ता कुरामा सहुलियत पाए खेतीमा किसानको आकर्षण अझ बढेर जाने उहाँको विश्वास छ ।

इलाममा कुल खेतीयोग्य जमिन ४४ हजार ७ सय ५४ हेक्टर क्षेत्रफलमध्ये १४ हजार तीन सय ३ दशमलव ७७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनि बर्देवाले जानकारी दिनुभएको छ । गएका बर्ष १४ हजार ७ सय ८३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ३७ हजार एक सय ८३ दशमलव ३७ मेट्रिकटन धान उत्पादन भएको थियो ।

चार नगरपालिका र ६ वटा गाउँपालिका रहेको जिल्लाको सबै ठाउँमा धानखेती हुँदै आएको छ । जसमध्ये जिल्लाको माई,इलाम,देउमाई नगरपालिका, चुलाचुली र माङ्सेबुङ गाउँपालिका धान खेतीका लागि पकेट क्षेत्रका रुपमा चिनिन्छन् ।

जिल्लामा स्थानीय चुल्ठे भँगेरे,हर्दिनाथ–१,राधा–१२,मनसुली, मकवानपुर–१, चिराँखे,बेलगुठी जातका धान रोप्ने गरिन्छ । पछिल्लो समय रामतुलसी,ननिया र सावित्री जातका धान समेत रोप्न थालिएको सूर्योदय नगरपालिका–१ का किसान जगन्नाथ अधिकारीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय