जग्गा माग गर्दै इलाममा १६ हजार निवेदन

द्वारा प्रकाशित गरिएको हो |
२०८० मंसिर २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः राष्ट्रिय भूमि आयोग इलामको कार्यालयमा १६ हजार छ सय २२ जनाले जग्गा प्राप्तिको माग गर्दै निवेदन दिएका छन् । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया इलाममा चलिरहँदा मङसिर २० सम्ममा आठ पालिकाबाट सो संख्यामा निवेदन प्राप्त भएको आयोग इलामका अध्यक्ष भक्त केसीले बताउनु भएको छ । उहाँका अनुसार, ‘केहीलाई जग्गाको धनीपुर्जा नै वितरण गरिएको छ भने बाँकीलाई जग्गाको निस्सा वितरण गरिँदैछ । देउमाई नगरपालिका र चुलाचुली गाउँपालिकाको विवरण आउन बाँकी छ । तर, चुलाचुलीमा चाहिँ यसअघि ४१ जनालाई धनीपुर्जा नै वितरण गरिएको छ ।’

माङ्सेबुङ गाउँपालिकामा दुई हजार पाँच सय ३६ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । अन्य पालिकामा पनि निस्सा वितरणको क्रम सुरु हुँदैगरेको उहाँले बताउनु भयो । ‘केही पालिकाबाट विवरण आउन बाँकी छ । सबै विवरण आइसक्दा इलाममा भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको संख्या २० हजार हाराहारी पुग्ने अनुमान छ ।’

कार्यालयको विवरणअनुसार सूर्योदयबाट दुई हजार एक सय ३१, रोङबाट एक हजार आठ सय ५६, माङ्सेबुङबाट दुई हजार पाँच सय ३६, माइजोगमाईबाट एक सय ८६, इलाम नगरबाट एक हजार आठ सय १६, सन्दकपुरबाट पाँच सय ८५, माईबाट सात हजार एक सय ५४, फाकफोथुमबाट तीन सय ५८ निवेदन आयोगमा आएका छन् । चुलाचुली थप र देउमाईको विवरण आउनेक्रममा रहेको जिल्ला समन्वय समितिका सूचना अधिकारी कुमार निरौलाले जानकारी दिनुभयो ।

जग्गाको निस्सा वितरण गरिएपछि उनीहरूको जग्गा नापजाँच गरिने आयोगले जनाएको छ । आयोगका अनुसार भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई सहरी क्षेत्र भए चार आना, सहरोन्मुख भए १० आना र गाउँमा भए पाँच रोपनी जमिन वितरण गरिन्छ । तर, आफ्नो नाममा जग्गा नभएपनि किन्न सक्ने आर्थिक अवस्था चाहिँ भएकालाई भने सुकुमबासीको परिभाषाभित्र नराखिएको आयोगले जनाएको छ ।

अव्यवस्थित बसोबासीले भने केही राजश्व तिरेपछिमात्र जग्गा पाउनेछन् । अव्यवस्थित बसोबासीको हकमा १० वर्षदेखि निरन्तर बसोबास गरेको भए १९ रोपनीसम्म जग्गा दिने प्रावधान छ ।–––

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय