७९ बर्षमा बोल्ने हुटहुटीः महिलालाई बोल्न सिकाउँदै रोङ

द्वारा प्रकाशित गरिएको हो |
२०८० मंसिर २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

 रोङ गाउँपालिकाको वडा १, शान्तिपुरकी ७९ बर्षीया रुक्मिणी न्यौपाने ।

फिक्कलः महिलाको नेतृत्व क्षमता विकास गर्न इलामको रोङ गाउँपालिकाले ग्रामीण क्षेत्रका महिलालाई उद्घोषण तालिम शुरु गरेको छ । उनीहरूलाई अरूका अघि निर्धक्क भएर ‘बोल्ने कला’ सिकाईँदैछ ।

यसैक्रममा गाउँपालिकाको वडा १, शान्तिपुरमा महिलाका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम बुधबार सम्पन्न भयो । उक्त तालिममा बालबच्चा स्याहार्ने महिला,स्कुले विद्यार्थी देखी ७९ बर्षीया वृद्धासम्मको सहभागिता उत्साहजनक थियो । सिक्ने अवसर पाएकोमा हर्षित देखिएका उनिहरुमा प्रस्ट वक्ताका रुपमा बोल्ने हुटहुटी थियो ।

शान्तिपुरकी रुक्मिणी न्यौपाने ७९ बर्षको हुनुभयो । ‘अरुले माईक्रोफोनमा भाषण गरेको देख्दा त्यो समाएर बोल्दा कस्तो होला भन्ने लागेको थियो ।’ उहाँले भन्नुभयो,‘आज रहर पुरा भयो ।’ उमेरमा माईक नै देख्न नपाएको सुनाउँदै उहाँले घर नजिकै वडा कार्यालय बनिएपछि कार्यक्रम हुँदा अरुले त्यसमा बोलेको देखेको बताउनुभयो । जीवनमा पहिलोपटक माइक्रोफोन छुन पाएकोमा खुसी व्यक्त गर्दै उहाँ भन्नुहुन्छ, ‘उहिले हाम्रा पालमा न तालिम न नेतृत्व । अहिले बुढी भएपनि पहिलोपटक माइक समात्न पाइयो, अब हामीले त के गरौंला र, नयाँ पुस्ताले चाहिँ यो अवसर सदुपयोग गर्नुपर्छ ।’

श्रीयम मिडिया प्रालिको आयोजना तथा रोङ गाउँपालिकाको सहयोगमा तीन दिने तालिम सम्पन्न भएको हो । तालिममा महिलालाई उद्घोषण र नेतृत्व विकासको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको थियो ।

तालिम समापन समारोहकी प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले महिलाहरुलाई अरुको अगाडि उभिएर निर्धक बोल्न सक्ने बनाउन र अबको नेतृत्व लिन सक्ने गरी अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिलाप्रति हेर्ने दृष्टिकोणलाई अब परिवर्तन गर्न जरुरी छ, समाज निर्माणमा महिला सहभागिता अनिवार्य भई नेतृत्व पनि लिन आवश्यक छ ।’

महिलाहरुको क्षमता विकास गरी समुदायमा महिला हिंसाविरुद्धको अभियान तथा आर्थिक सामाजिक सांस्कृतीक अधिकारका बारेमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम गरिएको श्रीयम मिडिया प्रालिका अध्यक्ष भिम चापागाईको भनाई छ । ‘जबसम्म महिला घरभित्रै सीमित हुन्छन्, समाजमा कुनै परिवर्तन आउँदैन,’ उहाँले भन्नुभयो, ‘महिलाले आफ्ना लागि र समाजका लागि आवाज उठाउन उनीहरूमा बोलीको सीप, बोल्ने तत्परता र आत्मविश्वास विकास गर्न जरुरी भएकाले तालिम सञ्चालन गरिएको हो ।’

महिलाहरुको नेतृत्व विकास गरी वडास्तरमा हुने विभिन्न कार्यक्रमहरुमा महिलाको सहभागिता र नेतृत्व बढाउन तालिमले सहयोग पुर्याउने वडाध्यक्ष मनोहरी खड्काले विश्वास ब्यक्त गर्नुभयो । कार्यपालिका सदस्य लक्ष्मी नेपालीले महिलालाई सामाजिक संघ–संस्थादेखि राजनीतिक नेतृत्व लिन सक्षम बनाउनु आवश्यक रहेको बताउनु भयो । ‘चुप लागेर बसिरहने हो भने हामी आफ्ना र गाउँ–समाजका समस्या बाहिर ल्याउन सक्दैनौं, समाधान गर्न सक्दैनौं,’ उहाँले भन्नुभयो, ‘महिला आफ्ना र समाजका समस्या, समाधानका उपाय खोज्न तत्पर हुaनुपर्छ, त्यसका लागि क्षमता विकास आवश्यक छ ।’

वडा सदस्य मनमाया राईले आफू पनि यस्तै तालिममा सहभागी भएपछि अरूका अघि बोल्न सक्ने भएको सुनाउनु भयो । ‘हामीले जनप्रतिनिधि हुनुअघि यस्तो तालिम पाएनौं, जनप्रतिनिधि भएपछि अरूका अघि बोल्न निकै धक लाग्थ्यो,’ उहाँले सम्झनुभयो, ‘पोहोर साल हामीले पनि यही तालिम लिएपछि बोल्न आँट आउन थालेको हो ।’ उहाँले महिलालाई बोलीका माध्यमबाट नेतृत्वमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।
वडा सदस्य रेशबहादुर राईले महिलाको क्षमता विकासले समाज परिवर्तनमा भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘यस्ता क्षमता र नेतृत्व विकास तालिम त आवश्यक छ नै, महिलालाई सुरुमा नधकाई आफ्ना कुरा आफैं राख्नसक्ने बनाउन सबैले प्रयास गर्नुपर्छ ।’

अग्रज पत्रकार तथा सामाजिक अगुवा पदम विलासी राईले महिलाको सामाजिक र आर्थिक समृद्धिमा उद्घोषण तालिमले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । ‘आफूलाई लागेका कुरा अरूका अघि राख्न नसकेर धेरै महिला समाजमा पछि परेको देखिन्छ,’ उहाँले भन्नुभो, ‘महिला सशक्तीकरण र उनीहरूको बोल्ने तत्परता बढाउन तालिमले सहयोगी भूमिका निर्वाह गरेको छ । यस्ता तालिम वडा तहमा मात्र होइन, टोल–टोलमा आवश्यक छ ।’

४९ जनाको सहभागिता रहेको तालिमको सहजीकरण प्रालि अध्यक्ष तथा नेपाल पत्रकार महासंघ इलाम शाखा सचिव भीम चापागाईं, महासंघ सदस्य, राससकर्मी मनोज अधिकारी र झापाकी अग्रज पत्रकार भीमा शिवाकोटीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय