इलाम बैकर्स क्लबको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा खड्का

द्वारा प्रकाशित गरिएको हो |
२०८० मंसिर २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलाम बैकर्स क्लबमा पीताम्बर खड्का चयन भएका छन् । खड्का ग्लोबल आइ एम इ बैक शाखा प्रमुख रहेका छन् । बिहीबार इलाम सदरमुकाममा सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत रूपमा खड्का सहित सात सदस्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ज्योति विकास बैकका अम्बिका ढकाल, सचिवमा युनाइटेड अजोड इन्सोरेन्सका टिकाराम पुरी, सह सचिवमा कृषि विकास बैकका सूर्य अधिकारी र कोषाध्यक्षमा मुक्तिनाथ बैकका सुवास भट्टराई चयन भएका छन् । समितिको सदस्यमा राष्ट्रिय वाणिज्य बैकका इन्द्र कार्की र एस वि आई बैकका मिलन श्रेष्ठ चयन भएका हुन । त्यस्तै समितिको सल्लाकारमा एक्सल बैकका टीका प्रसाद दाहाल, सानिमा बैककी समिता बस्नेत र नेपाल बैकका सञ्जय उपाध्याय रहेको नवनिर्वाचित समितिका अध्यक्ष पीताम्बर खड्काले जानकारी दिए ।

इलाममा विगत लामो समयदेखि क्लब गठन गरी विभिन्न क्रियाकलाप गर्दे आए पनि गत साउन देखि दर्ता प्रक्रिया पूरा गरी वैधानिक रूपमा काम गर्न थालेको थियो । विधान अनुसार संस्था दर्ता भएको छ महिना भित्र अधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था अनुसारै पहिलो अधिवेशन सम्पन्न भएको संस्थाका सचिव टिकाराम पुरीले जानकारी दिए । संस्था दर्ता भएसँगै संस्थागत तथा सामाजिक क्रिया कलापका लागि नव निर्वाचित समितिले योजना बनाएर अघि बढ्ने र संस्थाको पारदर्शिताका लागि बैक खाता खोलेर सबै कारोबार बैक प्रणाली मार्फत नै अघि बढाउने कोषाध्यक्ष सुवास भट्टराईले जानकारी दिए । विधानले बैकर्स क्लबमा इन्सोरेन्स कम्पनीबाट पनि समितिमा रहने व्यवस्था गरेको छ ।

क्लबको प्रथम अधिवेशनको उद्घाटन सत्र सञ्जय उपाध्यायको अध्यक्षतामा भएको थियो । उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सदस्य अमित ढकालले राखेका थिए । त्यस्तै उद्घाटन कार्यक्रममा टिका दाहाल र सूर्य प्रसाद अधिकारी शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रमका वक्ताहरूले बैकर्स क्लबमा नयाँ आउने समितिले बैकमा आउने समस्या र चुनौतीलाई समाधान गर्न सबैलाई एक बनाएर लैजाने विश्वास रहेको बताएका छन् । बैकर्स क्लबले इलाम अस्पतालको क्वाटर आगलागी पीडितहरूलाई खाद्यान्न सहयोग गरेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय