इलामः इलामको सूर्योदय नगरपालिकाले साँझको पाँच बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने व्यवस्था गरेको छ । पालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकबाट मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गरिएको प्रवक्ता ख्यामबहादुर भुजेलले बताउनुभएको छ ।
दिनदाहाडै मदिराले लठ्ठिएर होहल्ला गर्ने प्रवृत्ति बढेको, सार्वजनिक निकाय वरिपरि मदिराको बेचबिखन गर्ने गरेको, विद्यार्थीलाई मदिरा बेचबिखन गर्ने गरेको र बालबालिकामा मदिराको लत बढ्न थालेकाले नगरपालिकाले मदिरा नियन्त्रणका लागि कानुनी प्रावधानको व्यवस्था गरेको भुजेलले बताउनुभयो ।
कार्यविधिले १८ वर्ष मुनिका बालबालिकालाई मदिरा बेचविखन गर्न निषेध गरेको छ । इजाजत विना मदिरा बेच्न नपाइने र मदिरा खरिदबिक्रीको विजक अनिवार्य गरेको छ । मदिरा तथा सुर्तीजन्य बस्तुलाई नियमन गर्न आउदो नगरसभाबाट ऐन बनाउन विधेयक समितिको संयोजक उर्गेन बम्जनको संयोजकत्वमा ऐन मस्यौदा समिति गठन भएको छ ।
नगरपालिकाको १४ औँ नगरसभा माघ दश गतेदेखि बस्दै छ । नगरसभाबाट ऐन पारित भएपछि मदिरा जन्य बस्तुको नियन्त्रणका लागि सघन रूपमा अभियान सञ्चालन गर्ने तयारी रहेको भुजेलले जानकारी दिनुभयो ।
यसैगरी नगरपालिकाले लम्पिस्किन महामारीमा क्षति भएको पशु चौपायाको राहात रकम दिने भएको छ । शुक्रबारको बैठकबाट राहत रकम वितरण गर्ने कार्यविधि पारित गरिएको भुजेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार, माउ गाई मरेको किसानलाई २० हजार रूपैया, कोरली गाइ मरेका किसानलाई १० हजार र गोरू मरेको किसानलाई ५ हजार रूपैया राहात रकम दिने निर्णय भएको छ ।
‘नगरपालिकाले लम्पिस्किन रोग नियन्त्रण गर्न खोप अभियानलाइ सघन रूपमा सञ्चालन गर्ने भएको छ ।’ उहाँले भन्नुभयो, ‘त्यसका लागि नगरपालिका अन्तरगत र निजी पशु प्राविधिकको परिचालन गरिने छ । त्यस्तै किसानलाई स्वस्थ्य रूपमा पशुपालनको तालिम समेत गराइनेछ ।’
लम्पिस्किन रोगबाट पशुधन क्षति भएका लाभग्राहि सिफारिस गर्न आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । समितिले लम्पिस्किन रोगबाट पशुधनमा क्षति भएका वास्तविक किसानको पहिचान गरेर राहतको लागि सिफारिस गर्ने छ ।
नगरपालिकाले लम्पिस्किन रोगबाट भएको छतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न नगरपालिकाले एक करोड २५ लाख रूपैयाँ रकम विनियोजन गरेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।
नगरपालिकामा लम्पिस्किन रोगबाट सात सय ४४ गाईबस्तुको क्षति भएको छ । त्यस्तै नगरपालिकाले पशु र बालि बिमामा प्रोत्साहन गर्ने भएको छ । नगरपालिकाले पशु र बालि बिमामा किसानले ब्यहोर्ने बिमा शुल्कको आधा रकम नगरपालिकाले व्यहोर्न भएको प्रमुख राईले बताउनुभयो ।
बिमा प्रोत्साहनको लागि दश लाख रूपैया विनियोजन भएको छ । पशु र बालि बिमामा सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ ।