इलाममा ललितकला उत्सव सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– इलाममा ललितकला उत्सव सुरु भएको छ । नेपाल र भारतका कलाकारका कलाकृति समेटेर उत्सव सुरु गरिएको हो । इलामको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नगरपालिकासहित छ संस्थाको संयुक्त आयोजनामा उत्सव सुरु भएको हो ।

यो देही आर्टको नवौं शृङ्खला हो । इलाम निर्वाचन क्षेत्र नम्बर १ का सङ्घीय सांसद महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा इलाम नगपालिकाकी उपप्रमुख विष्णु दाहाल लिम्बूले कार्यक्रमको संयुक्त उद्घाटन गरेका छन् ।

यही पुस १६ सम्म उत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । संस्कृति र कलाको प्रवर्धनले मात्रै समाज बलियो हुने सांसद बस्नेतले बताए । उनले पेन्ट्सका माध्यमबाट इलामलाई अगाडि बढाइएको भन्दै आयोजकलाई धन्यवादसमेत दिए । उत्सवमा नगरपालिकाका विभिन्न ठाउँका चित्र पेन्ट्समार्फत् उतारिने छ ।

इलामको कला संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्धनका लागि ललितकला उत्सव सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख दाहाल लिम्बूले बताइन् ।

नगरपालिकासहित जिल्ला उद्योग वाणिज्य सङ्घ, नगर पर्यटन प्रवर्धन समिति, नगर कला साहित्य प्रतिष्ठान, प्याब्सन इलाम, देही आर्ट र होटल एसोसिएसन इलामको संयुक्त आयोजनामा उत्सव सुरु भएको हो ।

कतै चित्र हेरेर त कतै पर्यटकीयस्थल नियाल्दै प्रत्यक्ष रूपमा चित्र निर्माण गरिने बताइएको छ । हाल इलाम चोक बजार, माइस्थान मन्दिर, चिया बगान र अरनिको सङ्ग्रहालय गरी चार स्थानमा प्रत्यक्ष रूपमा कलाकारले चित्र बनाउने कार्यक्रम तय भएको नगर पर्यटन प्रवर्धन समिति सचिव अर्जुन पोख्रेलले जानकारी दिए ।

उनका अनुसार उत्सवमा नेपाल र भारतका गरी ३३ जना कलाकारले सहभागिता जनाएका छन् । कलाकारले निर्माण गरेका तस्बिर विभिन्न ठाउँमा प्रदर्शनसमेत गरिने जनाइएको छ । चित्रमार्फत् पनि इलामका विभिन्न स्थानको प्रवर्धनमा सहयोग हुने नगरपालिकाले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय