इलामः अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी देखिएका छन् । कालो सुन भनेर चिनिने अलैँचीले चार बर्ष यताकै उच्च मूल्य पाएपछि यहाँका किसानको अनुहार उज्यालो भएको हो । ‘अलैँचीको भाउ यतिधेरै आउँछ भन्ने लागेको थिएन,आउँदोसाल देखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ ।’ सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, ‘कालो सुन भन्थे साँच्चै,सुन जस्तै बहुमुल्य हनेभयो ।’
कालो सुन भनेर चिनिने अलैँचीले चार बर्ष यताकै उच्च मूल्य पाएको हो । पोहोर भन्दा झन्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको ब्यवसायी जीवन पाण्डेले बताउनुभयो । ‘गत साल यो सिजनमा प्रतिमन २८ हजार थियो,हाल राम्रो अलैँची प्रतिमन ८५ हजारसम्म बिक्री भईरहेको छ ।’ पाण्डेले भन्नुभयो । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको छ । किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष भाउ बढेको पाण्डेले बताउनुभयो । रोगले मासिदै गएको अलैँचीलाई आधुनिक खेती प्रणाली अपनाएर किसानले पुरानै अवस्थामा पुर्याउने प्रयास गरिरहेका छन् ।
सूर्योदय नगरपालिका–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाउनु भएको छ । ‘बर्षमा २७ देखि ३१ मनसम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर बार्षिक आठ–दश लाख बचत हराएको छैन ।’ शेरेङले भन्नुभयो । आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका हुन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । अलैँची मासिएर निरास भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको शेरेङले बताउनुभयो ।
जिल्लामा यसवर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिकटन अलैँची उत्पादन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो । एक हजार सात सय ५३ हेक्टर जमिनमा सो बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामसंग तथ्याङक छ ।
कार्यालयका कर्मचारी रुन खड्काका अनुसार,गत आवमा एक हजार दुई सय १५ दशमलव २६ मेट्रिकटन मात्र अलैँची उत्पादन भएको थियो । ‘पोहोर एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँची खेती गरिएको थियो ।’ उहाँले भन्नुभयो,‘अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ ।’ गत वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकोमा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उहाँले बताउनुभयो ।
दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची थियो । अलैँचीकै आम्दानीले घर खर्च चलाउन मात्र होईन जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो । तर, अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी ठप्प भयो । विस्तारै अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन एक लाखसम्म पनि पुग्यो ।
रोगले हराउँदै गएको अलैँचीलाई किसानले अलैँचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पु¥याउने प्रयास थालेका छन् । “पाखामा गाडेर मात्र नहुँदो रहेछ,स्याहार गर्न र मलजल गर्न थालेपछि अलैँची सुधार भएको छ ।”, किसान शेरेङले भन्नुभयो, “रोप्ने तरिका र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैँचीको उत्पादनमा धेरै फरक पाईयो ।” उहाँले सिंचाईको समस्या नहुने हो भने अझ उत्पादन बढाउन सक्ने बताउनुभएको छ । अलैँची विकास केन्द्रका तत्कालिन प्रमुख पदम अधिकारीसंग चार बर्ष अघि लिएको तालिमले ब्यवसायीक खेती गर्न सहयोग पुर्याएको उहाँले बताउनुभयो । ‘मेरोमा उत्पादन भएको अलैँची बाग्लुङ,पोखरा,स्याङजा तिर पनि सप्लाई भएको छ ।’ उहाँ भन्नुहुन्छ, ‘मैलै सँधै बिरुवा उत्पादन गरेर अलैँची विकास केन्द्रलाई दिने गरेको थिएँ,यस बर्ष विरुवा राख्न फुर्सद भएन,आउँदोसाल वृहत गर्नुछ ।’
प्रत्येक एकएक महिनामा अलैँची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको किसानको अनुभव छ । अर्का कृषक मित्रभक्त अधिकारीका अनुसार निश्चित मात्रामा सिँचाइ, फाँड्ने र गोड्नेसँगै, गोठेमलको प्रयोग गर्न थालेपछि अलैँची सुध्रिएको हो । किसानले अलैँचीका लागि सङ्घसंस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हट्दै गएको हो ।
अलैँचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका किसानहरु तालिम र परामर्शपछि अलैँची सुध्रिएको बताउँछन् । घरेलु औषधि र मलको प्रयोग अलैँचीलाई महत्वपूर्ण हुने उनिहरुको भनाई छ । दशकअघिको खेती प्रविधि सम्झँदै माईजोगमाईका अधिकारीले भन्नुभयो, ‘त्योबेला अलैँची त दुःख नगरि फल्दोरहेछ, जबर्जस्ती आम्दानी लिएछौँ ।’ सबै किसानले जुनसुकै खेती गर्नभन्दा अघि तालिम र परामर्श लिनु जरुरी हुने उहाँ बताउनुहुन्छ । किसानले अलैँची मासेर वैकल्पिक खेती लगाएकाले क्षेत्रफल भने घटेको छ । जमिन घटे पनि मलजल र किसानको मेहेनतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
६ गाउँपालिका र ४ नगरपालिका गरि १० वटा स्थानीय तह भएको इलाममा माइजोगमाई र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँची खेती भएपनि सबै स्थानीय तहमा आंशिकरुपमा खेती हुँदै आएकोे छ । अलैँची खेती समुद्री सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ भने यसको उत्पादन भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा धेरै हुने गरेको छ ।