माईजोगमाईमा कृषि समस्या समाधान बिषयक अन्तरकृया

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

इलामः इलामको माईजोगमाई गाउँपालिकामा दुग्ध लगायत कृषि क्षेत्रका समस्या समाधानका विषयमा सरोकारवालाबिच अन्तरकृया भएको छ । मंगलबार पालिकाको आयोजनामा भएको अन्तरकृया कार्यक्रममा अध्यक्ष,उपाध्यक्ष,अन्य जनप्रतिनिधि,कृषि र पशु शाखाका प्रमख, उद्योगी ब्यवसायी तथा कृषकहरुको उपस्थिति रहेको उपाध्यक्ष प्रविना राईले जानकारी दिनुभएको छ ।

कार्यक्रममा विद्यमान कृषि समस्या र समाधानमा स्थानीय सरकारको प्रयासका बारे छलफल गरिएको छ । बजार अभावले कृषि क्षेत्र संकटमा पुगेको भन्दै किसानहरुले गुनासो गरेका छन् । उनिहरुले दूध सहित किसानले उत्पादन गरेका कृषिजन्य उपजको खच्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण किसानको बाँच्ने जग कमजोर बनेको बताएका छन् ।

अन्तकृया कार्यक्रममा पारस नेउपाने,प्रदिप खड्का,देविभक्त शिवाकोटी,सुमन वेगा लगायतका किसानहरले कृषि क्षेत्रमा प्रोत्साहन कम भएको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

माईजोगमाई क्षेत्रमा दिनहुँ उत्पादन हुने दूधको विक्री र मूल्य भुक्तानीको व्यवस्था सहज गर्न, हाल स्टक रहेका घिउ, छुर्पी र अन्य कृषि उपज विक्रीका लागि व्यवस्था गर्न माग गरिएको उनिहरुले बताएका छन्

जीवनयापनको आधार कृषि भएको मुलुकको ७५ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको र इलाम कृषि तथा पशुपालन उद्योगबाटै ख्याती कमाएको जिल्ला भएपनि जीवनयापनको आधार संकटग्रस्त भएको किसान प्रदिप खड्काले बताउनुभयो ।

भारतबाट आयात हुने दुग्ध पदार्थभन्दा सस्तोमा यहाँको दुग्ध परिकार उत्पादन गर्ने वातावरण बनाउन, लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान,किसानलाई राहात रकम उपलब्ध गराउन माग गरिएको छ ।

‘कृषकले थालेको दूध र दुग्ध व्यवसाय करिब एक वर्षदेखि बजारमा आएको उत्तारचढावका कारण अप्ठ्यारामा छ ।्,’ ब्यवसायी ताया महतले भन्नुभयो, ं‘अब किसानको बाँच्ने जग कमजोर बन्दै गएको छ,सरकार चनाखो हुनुपर्यो ।’

राजेन्द्र लिम्बु,छत्र निरौला लगायतका ब्यवसायीहरुले स्थानीय सरकारमार्फत् तीनै तहका सरकारले समस्या समाधानका लागि तत्काल पहल थाल्न ध्यानाकर्षण गरेका हुन् ।

किसान र ब्यवसायीले उठाएका कृषि तथा पशु विषयका प्रश्नको जवाफ कृषिशाखा प्रमुख उषा श्रेष्ठ र पशुशाखा प्रमुख सुमन देवानले दिनुभएको छ ।

पालिका उपाध्यक्ष प्रविना राईले वडा वडामा लम्पि स्किन बाट पीडित किसान पहिचान गर्ने र कार्यपालिकाबाट निर्णय गरेर राहात प्रकृया अघि बढाउने बताउनुभयो ।उहाँले उपाध्यक्षसंग युवा उद्यमी कार्यक्रमले थप युवालाई जोड्ने र ब्यवसायीक बनाउन सहयोग पुग्ने बताउनु भएको छ ।

गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेले किसान र ब्यवसायीले उठाएका समस्याप्रति पालिका चिन्तित भएको बताउँदै तीन तहको सरकार बिच समन्वय गरेर किसानका समस्या समाथान गर्ने बताउनुभएको छ ।

दुग्ध पदार्थ बिक्री नहुँदा इलामका कृषकलाई ‘मिल्क होलिडे’ सुरु हुने त्रास बढेको छ । घिउ र छुर्पी बिक्री नभएपछि विराटनगर दुग्ध वितरण आयोजनाले मात्र होइन निजी क्षेत्रका डेरीलेसमेत किसानको दूधको भुक्तानी दिन सकेका छैनन् । जसका कारण कृषकहरू अप्ठ्यारोमा परेका छन्।

यसअघि गुणस्तरको आधारमा प्रतिलिटर ७० रुपैयाँसम्म दूधको मूल्य पाएका किसानले अहिले ४०–५० रुपैयामा चित्त बुझाउनु परेको छ । इलाममा दुग्ध विकास संस्थान (डीडीसी)र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब ४ हजार परिवार कृषकको यस्तै ब्यथा छ ।

विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले अहिले घिउ र पाउडर गरेर १ सय ३३ टन दुग्ध पदार्थ स्टकमा रहेको जानकारी दिनुभयो । ‘भण्डारण कक्ष कुनै खाली छैनन्।’ उहाँले भन्नुभयो, ‘बिक्री ठप्प भएपछि आयोजनालाई दैनिक संकलन हुने दुग्ध व्यवस्थापन झनै चुनौतीपुर्ण बन्दै गएको छ ।’

पशुलाई दाना खुवाउन पनि ऋण काड्नु पर्ने अवस्था आएको गुनासो पोख्दै कृषक राजन भट्टराईले निजी डेरीहरुले दुध लिनै छोड्छन् की भन्ने डर शुरु भएको बताउनुभयो ।उहाँलाई आयोजनाले दूध थेग्न नसकेपछि मिल्क होलिडे शुरु हुने आशंका छ ।

आयोजना प्रमुख चौधरीले क्षमताले धान्न नसक्ने अवस्था आउन लागेको बताउनुभयो । ‘आयोजनालाई छोडेर निजी डेरीसँग कारोबार गर्न थालेका दुग्ध कारोबार गर्ने सहकारीले आयोजनामै दूध पठाउन थालेपछि आयाजनाको क्षमताले थाम्न मुस्किल भएको छ ।’ उहाँले भन्नुभयो । गत जेठ महिनादेखि आयोजनामा दूध बिक्रीको चाप बढ्न थालेको हो।

दुग्धपदार्थ बिक्री नभएपछि आयोजनाले कृषकलाई पुस महिना देखिको दूधको ३० करोड रुपयाँ भुक्तानी दिन नसकेको चौधरीले स्विकार गर्नुभयो । उहाँका अनुसार,आयोजनाले इलाम, झापा, धनकुटा, तेह्रथुम र विराटनगरका स्थानीय कृषकबाट दैनिक २२ हजार लिटर दूध संकलन गर्ने गरेको छ भने अन्य आयोजनाबाट १५ हजार लिटर खरिद गरेर दैनिक ३७ हजार लिटर दूध जम्मा गर्ने गरेको छ । जम्मा भएको दूधमध्ये दैनिक ५ हजार लिटर स्थानीय बजारमा खपत भएपनि अरू प्रशोधन गरेर घिउ र पाउडर दूध बनाउने गरिएको छ ।

आयोजनाले इलामबाट दैनिक ८ हजार लिटर, झापाबाट ५ हजार लिटर, धनकुटाबाट ६ हजार लिटर, तेह्रथुमबाट २ हजार लिटर, आयोजना आसपासका कृषकबाट १ हजार लिटर र अन्य आयोजनाबाट १५ हजार लिटर दूध खरिद गर्दै आएको छ। २०३० सालदेखि दुग्ध संकलन गर्दै आएको छ। पाँच बिघा क्षेत्रमा फैलिएको आयोजनाको दुग्ध स्टोर गर्ने क्षमता १ लाख लिटर छ भने प्रतिघण्टा पाँच हजार लिटर प्रशोधन गर्न सक्छ ।

विराटनगर आयोजनाले इलामको शान्ति डाँडा, पूवाखोला, बिब्ल्याटे, लक्ष्मीपुर, तीनघरे, फिक्कल, कुटी डाँडा, झापाको गरामनी, धनकुटाको हिले र चित्रेमा चिलिङ सेन्टर स्थापना गरेर कृषकको दुग्ध संकलन गर्दै आए पनि दुग्ध सहकारीले आयोजनालाई दुग्ध दिन बन्द गरेपछि पुवाखोला, लक्ष्मीपुर, कुटी डाँडाको चिलिङ सेन्टर बन्द गरेको छ ।

इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुग्ध खपत गर्दै आएको छ। निजी डेरीमा मात्रै १ हजारभन्दा बढी कृषकले दुग्ध बिक्री गर्दै आएका छन्।

इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दुग्ध संकलन गर्ने आएका छन्। स्थानीय बजार क्षेत्रमा दैनिक ५ हजार लिटर दुग्ध बिक्री हुने गरेको छ। छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेको छ। ललिपप, बम्बैसन जस्ता मिठाई बनाउने उद्योगले ३ हजार लिटर र भारतका बजारमा ३ हजार लिटर दुग्ध बिक्री हुने गरेको दुग्ध व्यवसायमा सम्लग्न व्यवसायीहरू वताउँछन्। इलाममा १८ चिज कारखाना, १५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ।

इलाममा वार्षिक १ लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ। होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार ३ सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्यांक छ। गाई पालनमा किसानको ठूलो लगानी भए पनि अनिश्चित बजार र सरकारको बेवास्थाको कारण दुग्ध व्यवसाय संकटमा पर्दै गएको राष्ट्रिय कृषक समूह महासंघ इलाम अध्यक्ष विष्णु दुलालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय