सूर्योदय नगरपालिका–१ का २५ ज्येष्ठ नागरिकलाई घर–घरमा पुगेर सम्मान

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः बिहानको खाना खाएर आगनमा घाम ताप्न निस्कनुभएका ९२ बर्षीय तुलसीराम अधिकारीलाई नमस्कार टक्रयाउँदै बुधबार वडाको टोली आईपुग्यो ।

सूर्योदय नगरपालिका–१ का वडाध्यक्ष राजकुमार शेरेङ सहितको छ सदसीय टोलीले घरमा आएर स्वास्थ्य परिक्षण,सम्मानपत्र वितरण र न्यानो सिरक दिएपछि मकरजुङका तुलसीरामले खुसी हुँदै भन्नुभयो, ‘पहिले भोट माग्न आउनुभएको थियो,अहिले सम्मान गर्नुभो, हाम्रो वडाको भलो होस् ।’

९५ बर्षीय काशिराम पोखरेलले विगतका पुरानो अनुभव सुनाउँदै राणाकाल र राजतन्त्रमा बोल्नै नपाउने गरेको बताउनुभयो । संघियता आएपछि नजिकैको सरकारले हरेक बर्ष सेवा गरिरहेकोमा पोखरेल दंग हुनुहुन्छ ।

वडा कार्यालयले ८५ बर्ष नाघेका २५ ज्येष्ठ नागरिकलाई सम्मान गरेको वडा सचिव गोविन्द चेम्जोङले जानकारी दिनुभयो । वडाको टोलीले ज्येष्ठ नागरिकको घरघरमा पुगेर प्रेसर परिक्षण, स्वास्थ्य अवस्थाको जानकारी लिएको र न्यानो कपडा र सम्मानपत्र वितरण गरिएको चेम्जोङले बताउनभयो । गोर्खे स्वास्थ्य चौकीका प्रमुख विकास राईले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

समाजमा ज्येष्ठ नागरिकहरुले इतिहास,सामाजिक संस्कार,भाषा साहित्य,परम्परागत ज्ञान, आदर्श, मुल्यमान्यताहरु वर्तमान तथा भावी पुस्तामा हस्तान्तरण गर्दै समाज विकासमा योगदान दिँदै आउनुभएकोले सम्मान गरिएको वडाध्यक्ष शेरेङले बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष,वडासचिव सहित सदस्यहरु,रोशन बुडाथोकी,डिक बहादुर मगर,चन्द्रकला विश्वकर्मा, मुन्ना कुमारी राई गोर्खे स्वास्थ्य चौकीका प्रमुख विकास राई समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय