इलाम– इलामको माई, पुवामाई र जोगमाई खोलाको संगम माइबेनीमा आज ९माघे संक्रान्ति०मा ठूलो धार्मिक मेला लाग्दैछ । माघे संक्रान्ति अवसरमा पुस मसान्तदेखि नै माइबेनीमा हरेक वर्ष मेला लाग्नेगरेको छ ।
वर्षौंयता माइबेनीमा आजको दिन धुमधाम मेला लाग्छ । ऐतिहासिकस्थल भएकाले माइबेनीमा स्थानीयले नै वर्षौंदेखि मेला आयोजना गर्थे । केही वर्षयता माइजोगमाई गाउँपालिकाले नै मेला आयोजना गर्नेगरेको छ ।
कोरोना महामारीका बेला २५ जनाभन्दा बढी भेला हुन नपाउने मापदण्ड रहेपनि स्वतस्फुर्त रूपमा मानिस भेला भएर मेला लागेको थियो ।
मेला भर्न नेपालका मात्रै होइन, भारतको दार्जिलिङ, सिक्किम, मिरिक, सिलिगुडी, कालिम्पोङ र भुटानबाट समेत हजारौं दर्शनार्थी माइबेनी आउँछन् । प्रत्येक माघे संक्रान्तिका दिन जिल्लाका अरू मुख्य सहर नै सुनसान हुन्छन् । ती सहरका व्यापारी–ग्राहक सबै माइबेनी मेला झर्छन् ।
माइबेनीमा मकर नुहाउँदा मनोकांक्षा पूरा हुने विश्वास छ । नजिकै रहेको शिवालयमा सद्बीज छर्दा धर्म कमाउने विश्वासमा हरेक वर्ष यहाँ दर्शनार्थीको घुइँचो लाग्छ । मकर संक्रान्तिको दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुल कन्दमूल खाने परम्परा कायमै छ । माइखोलामा परेवा उडाउने भाकल गर्नेहरूले पनि त्यसै दिन परेवा उडाउँछन् ।
धर्मसिन्धुका अनुसार यस दिनको नदीस्नान उत्तम मानिन्छ । मकर संक्रान्तिमा सूर्योदय हुनुपूर्वको नदीस्नान अझ उत्तम मानिएको छ । यस दिनको नदीस्नानले कर्मसिद्धि हुने, आरोग्य ल्याउने र छालासम्बन्धी रोगको निवारण हुन्छ भन्ने विश्वास गरिन्छ । मकरस्नानको सम्बन्ध शारीरिक शुद्धिका साथै चित्तशोधनसित पनि रहेको धार्मिक विश्वास छ । यसैले मानिसहरू माघे संक्रान्तिको अघिल्लै दिन माइबेनी पुगिसकेका हुन्छन् ।
बालबालिकादेखि वृद्धवृद्धासम्म माइबेनी मेला भर्न आउँछन् । सिजनअनुसार सुन्तला र उखुको व्यापार सबैभन्दा बढी हुन्छ । तीन सयभन्दा बढी दोकान राखिने मेला हरेक वर्ष स्थानीय संघसंस्थाहरूले आयोजना गर्दै आएका छन् । मेलामा राडीपाखी, गलैंचा, लुगाफाटा, भाडावर्तन, शृंगारका साधन र तरुलको व्यापार बढी हुन्छ ।
त्यसबाहेक कृषिजन्य उत्पादन पनि प्रदर्शनी र बिक्रीका लागि ल्याइएको हुन्छ । माइबेनीको अर्को आकर्षण भनेको धाननाच, चुड्केनाच, जुहारी गीत पनि हो । यी नाचहरू एकअर्काप्रति आत्मीयताको प्रतीक हुन् ।
१९२० सालतिर तत्कालीन बडाहाकिम गजराजसिंह थापाको पालामा माइबेनी मेला लाग्न सुरु भएको स्थानीय अग्रज बताउँछन् । पहिले महिना दिनसम्म लाग्ने मेला दुई साता, एकसाता हुँदै अहिले तीन दिनमा झरेको छ ।
इतिहासकार युद्धप्रसाद वैद्यले संकलन गरेको तथ्यअनुसार बडाहाकिम थापाकी पत्नी बदनकुमारी ९राणा प्रधानमन्त्री जंगबहादुरकी छोरी० धर्मकर्मप्रति आस्थावान भएकाले काठमाडौंमा माघेसंक्रान्तिमा मकर नुहाउँथिन् । मकर नुहाउने चलन भएको समाजमा हुर्किएकी बदनकुमारीले इलाममा माघे सक्रान्तिका दिन मकर नुहाउन नपाउने भएर बडाहाकिमसँग बिश्मात गरेपछि माइबेनीको त्रिवेणीमा नुहाउन सल्लाह दिए । त्यसपछि यहाँ मेला लाग्न सुरु गरेको इतिहास भेटिन्छ ।
वैद्यको ‘सात भाइको डायरी’ अनुसार बडाहाकिम थापाले यहाँ मेला लगाउने निश्चय गरेपछि जिल्लाभरिका थरी–मुखियाहरूमा ‘आफ्नो सातुचामल लिइ मेला भर्न आउनू’ भन्ने पुर्जी काटियो । अनि गाउँघर टाढा–टाढाका मानिसहरू पनि आफ्नो गाउँघरको बाजागाजासमेत लिएर मेला भर्न आउन थालेका हुन् ।
मेला भर्न ताप्लेजुङको ओलाङचुङगोलादेखिका मानिसहरू माइबेनी मेलामा आउन थाले त्यहाँका लामाहरू मेला लाग्नुभन्दा १५ दिन अगावै मेलास्थलमा आई पाल टाँगेर बस्न थाले । उनीहरू खच्चर, घोडामा राडीपाखी राम्रा–राम्रा गलैंचाहरू लिएर व्यापार गर्न आउथे, मेलाबाट फर्कंदा भोटेघोडाहरू बिक्री गरेर जान्थे । त्यसयता माइबेनी मेला निरन्तर लागिरहेको छ । palikapage