पन्ध्र हजार पशुलाई खोरेत विरुद्धको खोप लगाउँदै सूर्योदय

द्वारा प्रकाशित गरिएको हो |
२०८० माघ ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सूर्योदय नगरपालिका–१ गोर्खेका पशु प्राविधिक सञ्जय पौडेल पशुलाई खोरेत रोग विरुद्धको खोप लगाउनुहुँदै ।

इलामः सूर्योदय नगरपालिकाभित्रका पन्ध्र हजार भन्दा बढी पशुहरुलाई खोरेत रोग विरुद्धको खोप लगाउन सुरु गरिएको छ । नगरपालिकाका पशुहरुमा खोरेत रोग लाग्न नदिन तीन बर्षयता नियमित लगाईँदै आएको खोप यस बर्ष पनि सुरु भएको पशुसेवा साखाका प्रमुख विपिन सिंहले जानकारी दिनुभएको छ ।

‘गाई,गोरु,बाच्छा,बाच्छी साथै भैँसी,पाडा,पाडीहरु गरेर पन्ध्र हजार भन्दा बढीलाई खोप लगाउने काम भर्ईरहेको छ, तीन बर्ष यता खोप लगाउनेक्रम जारी छ,यो खोप एक बर्षमा एक पटक लगाउनु पर्दछ ।’ सिंहले बताउनुभयो ।

दुग्ध पदार्थ युरोपियन मुलुकमा निर्यात गर्न खोरेत रोग मुक्त क्षेत्र घोषणा भएको हुनुपर्ने भएपछि, नगरक्षेत्रका पशु चौपायहरुमा खोरेत रोग लाग्न नदिन पालिकाले खोप अभियान नै चलाएको नगरप्रमुख रणबहादुर राईले बताउनुभएको छ ।  सूर्योदय नगरपालिका खोरेत रोग नियन्त्रण कार्यक्रम सञ्चालन कार्यबिधि,२०७९ लागु गरि कार्यान्वयनको चरणमा रहको राईले बताउनुभयो ।

कार्यबिधिमा “खोरेत रोग” भन्नाले भाइरसको कारणबाट पशुहरुमा लाग्ने तथा पशुु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र सो को नियमावली २०५६ (संसोधन सहित) को नियम २० को उपनियम (२) बमोजिम सूचिकृत गरेका रोगहरुमध्ये एक ‘फुट एण्ड माउथ डिजिज’ सम्झनु पर्ने उल्लेख छ ।
‘गत बर्ष कुनै पनि खोरेत लागेको गाई भेटिएन ।’ राईले भन्नुभयो, ‘तीन बर्षसम्म अध्ययन गरेपछि सूर्योदय नगरपालिका खोरेतमुक्त क्षेत्र हुन्छ, त्यसपछि चैँ हाम्रा दुग्ध उत्पादनहरु युरोपियन देशहरुमा पठाउन सकिन्छ । यसका लागि खोप अभियान चलिरहेको छ,कार्यविधि बनेको छ।’

१४ वटा वडा रहेको यस पालिकामा नीजि तथा पशुसाखा मातहतका पशुप्राविधिकहरुले खोप लगाईरहेका छन् । सूर्योदय–१ गोर्खेका पशु प्राविधिक सञ्जय पौडेलले आफ्नो कार्यक्षेत्र रहेको वडामा सबै भन्दा धेरै पशु पालन रहेको बताउनुभयो ।

‘करिब चार हजार पशु हाम्रो वडामा मात्र छन्,पाँच सय हाराहारीलाई खोप लगाई सकेँ, अब पैँतिस सय जतिलाई लगाउनु छ ।’ पौडेलले भन्नुभयो । उहाँका अनुसार, तीन महिना भन्दा माथिका सबै पशुहरुलाई यो खोप लगाईने गरेको छ । किसानलाई खोप लगाएको प्रमाणित गर्ने गरि कार्ड उपलब्ध गराईन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय