कृषि क्षेत्रमा व्यवसायीकता ल्याउन सूर्योदयको करोडौँ लगानी

द्वारा प्रकाशित गरिएको हो |
२०८० माघ १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

नगरप्रमुख रणबहादुर राई कार्यकक्षमा अन्तरवार्ता दिनुहुँदै ।
इलामः परम्परागत कृषि प्रणालीलाई सुधार गरेर आधुनिक र व्यवसायीक रुपमा कृषि क्षेत्रलाई विकास गर्ने गरि सूर्योदय नगरपालिकाले करोडौँ लगानी गरिरहेको छ । पालिकाका ८० प्रतिशत भन्दा बढी मानिस कृषि क्षेत्रमा निर्भर भएकाले कृषिबाट नै यहाँको आर्थिक समृद्धि हासिल गर्ने यात्रामा नगरपालिका रहेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । ‘किसानमध्ये पनि अधिकांशले चिया खेती गर्नुहुन्छ, त्यसपछि पशुपालनमा धेरै किसान आबद्ध हुनुहुन्छ । आलु,अदुवा,अलैँची,बेसार लगायतका सबै खेतीमा आधुनिक पद्धती अपनाएर गुणस्तरीय उत्पादन गर्ने र कतिपय चिजलाई ब्राण्ड बनाएर बिक्री गर्ने गरि हामी काम गरिरहेका छौँ ।’ नगरप्रमुख राईले भन्नुभयो ।

सूर्योदय–सात कन्याममा २३ करोड लगानीमा अर्थोडक्स चिया अनुसन्धान तथा प्रवर्धन केन्द्र एक महिना अघि निर्माण सम्पन्न भएको छ । यो देशकै पहिलो अनुसन्धान केन्द्र हो । चिया रोपण सुरु भएको करिब एक सय ६० बर्षपछि सूर्योदयमा केन्द्र निर्माण हुँदा किसानमा उत्साह छ । सूर्योदय–८ का कृषक गणेस भट्टराई भन्नुहुन्छ, ‘यो हाम्रो गौरव हो । अब चिया टिप्ने तरिका,प्रशोधन र बजारीकरण सम्मका बिषयमा नयाँँ आयाम थपिने आसा छ ।’ पूर्वाधार निर्माणको काम सकिएपनि सफ्टवेरका कामहरु बाँकी रहेकोे र उक्त केन्द्रलाई कृषि संगै पर्यटनसंग पनि जोडेर लैजानै तयारी भैरहेको नगरप्रमुख राईले बताउनुभएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा यो केन्द्र निर्माण भएको हो ।

चिया टिपाईमा सुधार ल्याउन किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गर्न लागिएको राईले बताउनुभयो । ‘चियाको मुना टिपेर गे्रड छुट्याएर बिक्री गर्न जरुरी छ । चियाको न्युनतम समर्थन मुल्यले कम्तिमा प्रति केजी ४० रुपियाँ किसानले पाउनुपर्ने गरि उल्लेख गरेको छ । हामीले किसानको चिया गुणस्तरीय हुनुपर्ने र उद्योगहरुले राम्रो मुल्य दिनुपर्ने गरि कार्यविधि बनाएका हौँ । तर, चियाको टिपाई सुधार भएको छैन, त्यसको सुधार गर्न हामीले किसानलाई हाते मेसिन वितरण गर्न लागेका छौँ ।’ उहाँले भन्नुभयो ।

नगरपालिकामा दुई करोडको हाराहारीमा कृषि ईनोभेसन सेन्टर निर्माणको काम सुरु गर्ने तयारी भैरहेको राईले बताउनुभयो । ‘यस्का निम्ति विभिन्न चरणमा छलफल चलिरहेको छ । कर्फोक र फिक्कलमा ईनोभेसन सेन्टर तयार गर्छौँँ ।’ उहाँले भन्नुभयो, ‘हामीले कृषिलाई परम्परागत भन्दापनि आधुनिक, यान्त्रिकिकरण र ब्यवसायिक बनाएर लैजान कृषि इनोभेसन सेन्टरले मद्धद गर्दछ । लहरे बालीको मात्र कुरा गर्दा त्यसमा टुजी, त्रिजी कटिङ हुन्छ, किसानलाई कटिङ सिकाउने, कसरी थोरै भन्दा थोरै जमिनबाट धेरै उत्पादन गरेर फाईदा लिन सकिन्छ भन्ने सिकाउने, यस्ता विषयमा ब्यवहारीक र ब्यासायीक ज्ञान दिने गरि इनोभेसन सेन्टरले काम गर्छ ।’

यतिबेला सूर्योदय नगरपालिका किसानका घर–घरमा पुगेर बाली बिमा र पशु बिमा गर्नुपर्छ भन्दै सचेत गराईरहेको छ । पालिकाले पचास प्रतिशत अनुदान दिएर बिमा किसानलाई प्रोत्साहन गरिरहेको हो । नगरपालिका कृषि एम्बूलेन्स सञ्चालनको अन्तिम तयारीमा छ । ‘किसानले उत्पादन गरेका वस्तुहरुलाई सहज रुपमा बजारमा ल्याउनका निम्ती ८० प्रतिशतमा यातायातका साधन उहाँहरुलाई उपलब्ध गराउने गरि नगरपालिकाले सूचना प्रकाशित गरिसकेको छ । अब केही समय पछाडि सूर्योदयमा कृषिजन्य वस्तु संकलन केन्द्र निर्माण हुँदैछ ।’ नगरप्रमुख राईले भन्नुभयो ।

नगरपालिकालाई खोरेत मुक्त बनाउने अभियानमा पालिका जुटेको छ । पालिकाभरिका पन्ध्र हजार भन्दा बढी पशुचौपायहरुमा खोरेत विरुद्धको खोप लगाउने काम धमाधम भैरहेको पशुसाखा प्रमुख विपिन सिंहले जानकारी दिनुभयो । खोरेत मात्र होईन लम्पी स्किन डिजिज विरुद्धको भ्याक्सिन पनि सबै पशुलाई लगाईरहेको सिंह बताउनुहुुन्छ । नगरपालिकामा दुग्ध उत्पादन वृद्धि गरेर चाईना लगायतका युरोपियन मुलुकमा निर्यात गर्न खोरेत मुक्त हुनुपर्ने भएकाले यसलाई अभियानका रुपमा अघि बढाईएको नगर प्रमुख राईको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘प्रतिदिन दुई लाख लिटर दुग्ध उत्पान गर्ने,पाउडर प्लान्ड सञ्चालन गर्ने,उत्पादित वस्तु अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने हाम्रो प्लान छ ।’

नगरपालिकाले दुई बर्ष देखि बेसार खेतीमा किसानलाई प्रोत्सान गर्दै आएको छ । ‘सहकारी संस्थाहरुलाई बेसारमा लाग्न अनुरोध गरेका छौँ । सूर्योदय नगरपालिका बेसार खेतीको उपर्युक्त ठाउँ भनेर प्रमाणित भैसकेको हुनाले किसानहरुलाई राहात हुुने देखिरहेका छौँ । सहकारी संस्था मार्फत उत्पादन गर्न लगाउने, उहाँहरुले उत्पादन गरेको वस्तुलाई नगरपालिकाले खरित गरेर केही संघसंस्थासंग ‘एमओय’ू गरेर यहाँ भएका उत्पादनहरुलाई नगरपालिकाको ब्राण्डमा बिक्री गर्ने गरि नगरपालिका अघि बढेको छ । किसानले बेसार रोप्नुभन्दा अगाडी नै बिक्री मुल्यको ग्यारेन्टि हामी दिन्छौँ ।’ रार्ईले भन्नुभयो ।

कृषि क्षेत्र बाट नै आर्थिक समृद्धि हासिल गर्ने दौडमा रहेको सूर्योदयमा दिर्घकालिन सोचले बनिएका संरचना र नीति कार्यक्रम किसानमैत्री भएको कृषक रबिन सापकोटा भन्नुहुन्छ । ‘पालिकाले अनुदान,प्रोत्साहन दिएर किसानलाई कृषिमा आधुनिक सैली अपनाउन अनरोध गरिरहन्छ ।’ सापकोटाले भन्नुभयो, ‘तर क्वालिटिमा नो कम्रमाईज भन्ने छ । हामीले सबै कृषि उपज क्वालिटिको उत्पादन गर्न सकिरहेका छैनौ । यस्का लागी अझै धेरै तालिम र सहजिकरणको खाँचो छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय