तस्विरः सुन्तला बगानको अवलोकन गर्न पुगेका विद्यार्थी तथा जनप्रतिनिधिहरु
इलामः जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिदै गएर उत्पादनमा कमि आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । २० रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गर्नुभएको सुन्तला खेती लोभलाग्दो छ । यस बर्ष उहाँले दश लाखमा बगान बिक्री गर्नुभयो । लटरम्म फलेका सुन्तला चाख्न,फोटो खिच्न र खेतीको तरिका सिक्न स्थानीय बगानमै पुग्न थालेका छन् । सामवेद र उहाँकी पत्नीलाई ‘सुन्तला पर्यटक’को घुइँचो व्यवस्थापन गर्न यतिबेला भ्याइनभ्याइ हुन्छ । पुस पहिलो सातादेखि अहिलेसम्म उहाँको घरवरिपरि पहेंलपुर सुन्तलाको भिडियो क्लिप्स बनाउने, फोटो खिच्ने र सुन्तलाबारीमै रमाउनेको आउ–जाउ बाक्लो छ ।
इलाम नगरपालिका प्रमुख केदार थापाले उहाँको बगानमा पुगेर अवलोकन गर्नुभएको छ । नगरप्रमुख थापाले नगरले किसानका लागि विभिन्न अनुदान र सहयोगका कार्यक्रम वास्तविक किसानसम्म पु¥याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । ‘सरकारले दिने अनुदान पनि वास्तविक किसानसम्म पुग्यो भनेमात्रै कृषिमा प्रोत्साहन हुन्छ,’ उहाँले भन्नुभयोे, ‘इलाम नगरले किसानका लागि विभिन्न कार्यक्रम ल्याएको छ । दूध, चिया, अलैंचीजस्तै सुन्तला पनि किसानको निकै सम्भावनायुक्त खेती हो भन्ने उदाहरण यो बगानले देखाएको छ ।’
मेयरसँगै बगान पुग्नुभएका इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलले चापागाईंजस्ता मेहनती किसान सबैका लागि प्रेरणा भएको बताउनुभयो । ‘हामी उपभोक्ताले पनि स्थानीय उत्पादनलाई नै प्राथमिकता दिने हो भने किसानलाई निकै ठूलो सहयोग पुग्छ,’ पौडेलले भन्नुभयो, ‘फलफूलका रूपमा पनि आयातितलाई भन्दा स्थानीय उत्पादन नै उपभोग गर्नुपर्छ भन्ने चेतना विकास गर्नु आवश्यक छ ।’
किसान सामवेद सशस्त्र द्वन्द्वका पीडित र, उहाँका बुबा लेखनाथको सशस्त्र द्वन्द्वकालमा हत्या भएको थियो । त्यसपछि सामवेदको परिवार जिल्लाकै नामसालिङ गाउँबाट बरबोटेमा बसाँईसरेको रहेछ । नामसालिङमै हुँदा पनि सुन्तला खेतीमा रमाएको परिवार २० वर्षयता बरबोटेमा पनि सुन्तलामै सफलता हासिल गरिरहेको छ । उहाँको सुन्तला बगान यो साल जिल्लाकै ठूलो बगान पनि हो । कुनै वर्ष ३ हजार रुपैयाँमा विक्री भएको सुन्तला किसान चापागाईंले यो साल १० लाख रुपैयाँमा बिक्री गर्नुभएको छ ।
सुन्तला लगाएको पहिलो वर्ष तीन हजार रुपैयाँमा बिक्री गरेको सम्झँदै सामबेदले यो वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै १० लाख रुपैयाँमा बिक्री भएको बताउनुभयो । जिल्लाका विभिन्नि ठाउँमा सुन्तला मासिदै गएकाले चापागाईंको जस्तो बगान भेट्न निकै मुस्किल पर्छ । ‘गतवर्ष चार लाख रुपैयाँमा बिकेको यो बगानमा यस बर्ष उत्पादन राम्रो छ ।’ उहाँले भन्नुभयो, ‘धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका छन् ।’
कृषि ज्ञान केन्द्र इलामले पनि चापागाईंको बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुनसक्ने जनाएको छ । केन्द्रले किसानलाई सुन्तला खेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको बताएको छ । तर पनि जिल्लामा भने सुन्तला उत्पादन घटेको छ । गत बर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको इलाममा यस बर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको कर्मचारी रुजन खड्काले बताउनुभयो । कार्यालयका अनुसार यो वर्ष इलाममा विगतको तुलनामा सुन्तला खेती गर्ने क्षेत्रफल समेत घटेको छ । आर्थिक वर्ष ०८०÷०८१ मा दुई सय ७८.५ हेक्टरमा मात्र सुन्तला खेती भएको छ । गत आर्थिक वर्ष ०७९÷०८० मा दुई सय ८० हेक्टरमा सुन्तला खेती गरिएको थियो । इलाम नगरपालिका–५, माइजोगमाईको नामसालिङ, रोङको वडा नम्बर–६ लगायत क्षेत्रमा ब्यवसायीक रुपमाम सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो ।
‘पुरानो बोट, रोग–कीरा, मौसम परिवर्तन, समयमा छाँटकाँट, सिँचाइ अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिँदैछन्,’ उहाँले भन्नुभयो, ‘अहिले उच्च क्षेत्रमा पनि सुन्तला फल्न थालेको खबर आएका छन् । किवी खेती हुने स्थानतिर सुन्तला फलेको पाइएको छ ।’ केन्द्रले पनि सुन्तला मासिन नदिन बगैंचा व्यवस्थापन सुदृढीकरण कार्यक्रम सुरु गरेको छ । चार नगरपालिका र छ गाउँपालिका भएको इलामका दश स्थानीय तहमा नै सुन्तलाको आंशिक खेती हुँदै आएको छ ।