इलामः इलामको रोङ गाउँपालिका २, बाट हराएका ६ वर्षे बालक ४८ घन्टासम्म फेला परेका छैनन् ।
तालिमप्राप्त कुुकुरको सहायतामा उनको खोजी भइरहेको छ । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले झापाको माथिल्लो भेगमा उनको खोजी भइरहेको जानकारी दिए ।
उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट डिएसपी प्रकाश जबेगू नेतृत्वमा २५ जनाको टोली खटिएको छ ।
धरान घर भएका विजय र सम्झना तामाङका ६ वर्षे छोरा निर्भिक तामाङ इलामको रोङ गाउँपालिका–२, दूधेस्थित मावल आउँदा बिहीबार दिउँसो २ बजेतिर हराएका थिए ।
डिएसपी जबेगूका अनुसार मावलीघरमा बिहेका लागि आएका निर्भिक हजुरआमासँग पसल जानेक्रममा हराएका हुन् । ‘नजिकै जंगलैजंगल तिर गएर हराए वा कता गए भन्ने खोजी हुँदैछ,’ उनले भने, ‘धरानबाट तालिमप्राप्त कुकुर ल्याइएको छ ।’