नैतिक शिक्षा अभावले युवा पुस्ता ‘छाडा’ हुन थालेः पूर्वप्रधानमन्त्री खनाल

द्वारा प्रकाशित गरिएको हो |
२०८० फाल्गुन ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्राविधिक र नैतिक शिक्षा अभावले युवा पुस्ता ‘छाडा’ हुन थालेको बताएका छन् ।

उनले देशको औपचारिक शिक्षाको पाठ्यक्रम थोत्रो भइसकेको भन्दै नैतिक शिक्षा शून्यझैं हुँदा युवामा अनुशासनको खडेरी भएको बताएका हुन् ।

आफ्नै जन्मगाउँ इलाम नगरपालिका–१, साखेजुङमा सञ्चालित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्दै खनालले देशको औपचारिक शिक्षाको पाठ्यक्रम आमूल परिवर्तन गर्नुपर्ने बताए । ‘हाम्रो पाठ्यक्रम थोत्रो भइसक्यो, एकाध काम लाग्ने चिज छन्, काम लाग्नेलाई कन्टिन्यु गरेर पाठ्यक्रम आमुल परिवर्तन गर्नुपर्छ ।’

अब देश विकासको ग्यारेन्टी गर्ने शिक्षा दिनुपर्ने उनले बताए । ‘नैतिक शिक्षा त छँदैछैन भने पनि हुन्छ । त्यसले गर्दा मान्छे अराजक हुँदैगइरहेको छ, छाडा हुँदैगइरहेको छ । हाम्रै भाइ–बहिनी छन्, हामीभन्दा छाडा हुन थालेका छन् । उनीहरूलाई त्यो नैतिक शिक्षा दिइँदैन ।’

खनालले प्राविधिक शिक्षा व्यापक बनाउनसके रोजगारीका लागि विदेशिने युवाको संख्या घटाउन सकिने जनाए । उनले प्राविधिक शिक्षाका लागि आफूले सकेको सहयोग गरिरहेको पनि बताए ।

खनालले यो शिक्षालय इलामको महत्वपूर्ण सम्पत्ति भएको बताए । ‘मैले पनि केही सपना देखेरै यो शिक्षालयलाई जग्गा दिएको छु,’ उनले भने, ‘कमसेकम युवालाई प्राविधिक शिक्षा दिन सकियो भने देशले गति लिन्छ, युवा विदेशिनुपर्दैन भन्ने मेरो सपना हो ।’ खनालले यो शिक्षालयलाई ५६ रोपनी जमिन दिएका थिए ।

उनले ‘विद्या धनम् सर्व धनम् प्रधानम्’लाई अब ‘विद्या दानम् सर्व दानम् प्रधानम्’ भन्ने उक्ति बनाउनुपर्ने बताए । ‘अहिले देशमा जति पनि संकट छन्, शिक्षा र चेतना अभाव पनि त्यसको कारण हो,’ उनले भने, ‘बालबालिकादेखि नै शिक्षाको चेतना जगाउनुपर्छ ।’

खनालले नेताले सपना देख्न नसक्दा देशले गति लिन नसकेको बताए । नयाँ संविधान बनेपछि तीन सरकार निर्माण भएपनि देशको अवस्था सुध्रिन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय