माईजोगमाईमा तीन जिल्लाका पत्रकारलाई खोज पत्रकारिता तालिम

द्वारा प्रकाशित गरिएको हो |
२०८० फाल्गुन १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलाम– जिम्मेवार र जबाफदेही पत्रकारिता आजको आवश्यकता भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । पत्रकारिता समाजलाई सही बाटोमा अघि बढाउने सशक्त माध्यम पनि भएकाले पत्रकार र पत्रकारितालाई सबल, गुणस्तरीय र विश्वसनीय बनाउन सबैले प्रयत्न गर्नुपर्नेमा सरोकारवालाको जोड छ ।

इलामको माइजोगमाई गाउँपालिकामा नेपाल पत्रकार महासंघ इलाम शाखाले आयोजना गरेको ‘खोज पत्रकारिता तालिम’ उद्घाटनसत्रका सहभागीले गहन अध्ययन र अनुसन्धानबिना गरिएको पत्रकारिताले समाजमा भ्रम छर्नसक्ने जोखिमसमेत रहेको बताए । पत्रकारितालाई मर्यादित र खोजमूलक बनाउन पत्रकारलाई समय–समयमा क्षमता विकास र पुनर्ताजगी तालिम आवश्यक रहने वक्ताको भनाइ छ ।

तालिम उद्घाटन गर्दै माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले सञ्चार जगतले समाजलाई मार्गदर्शन गर्नुपर्ने बताए ।

‘अहिले केही मिडिया र प्रायः सामाजिक सञ्जालमा सकारात्मकभन्दा नकारात्मक सामग्री बढी भाइरल भएको देखिन्छ,’ उनले भने, ‘गलत सूचनाले सयौं सही सूचना लुकाइरहेको देखिन्छ । त्यसैले पत्रकारितालाई थप जिम्मेवार र जबाफदेही बनाउनुपर्छ ।’ उनले देशमा भइरहेका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए ।

‘अहिलेको युग नै सञ्चार, सूचना र प्रविधिको युुग भएको छ, सूचनाको शक्ति ठूलो छ,’ अध्यक्ष थेबेले भने, ‘पत्रकारिताले सही, सकारात्मक ऊर्जा दिनेखालका र तथ्य सूचनामात्र बाहिर ल्याइदिँदा पनि समाजका लागि ठूलो सहयोग हुन्छ, योगदान हुन्छ ।’

गाउँपालिका उपाध्यक्ष प्रविना राईले समाचार, सूचना सम्प्रेषणमा पत्रकारहरू गम्भीर भइदिँदा सबैलाई असल अभ्यासमा अघि बढ्न सहयोग हुने बताइन् । ‘कसैले राम्रो योजनाले, राम्रो लक्ष्यले काम गरिरहेको छ भने उसलाई सञ्चार क्षेत्रले हौसला दिनुपर्छ,’ उनले भनिन्, ‘गलत काम गर्नेको कर्तुत पनि बाहिर ल्याउनुपर्छ तर त्यसको प्रभाव चाहिँ सकारात्मक पर्नेगरी सञ्चार गर्नुपर्छ ।’ उनले माइजोगमाई गाउँपालिकामा पनि सयौं सकारात्मक विषयवस्तु ओझेलमा परिरहेको बताइन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृत गोकुल सञ्जेलले मर्यादित र खोज पत्रकारिता अहिलेको आवश्यकता भएको बताए । उनले स्थानीय सरकारले पनि राज्यको चौथो अंग भनिने पत्रकारितालाई बलियो बनाउन प्रयास गरेको जनाए ।

नेपाल पत्रकार महासंघ, इलाम शाखाकी पूर्वअध्यक्ष कोकिला ढकालले सामाजिक रुपान्तरणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताइन् । ‘पत्रकारिता आवाजविहीनको आवाज हो भनिन्छ तर वास्तवमा अहिलेको पत्रकारिता आवाजविहीनको आवाज भएको छ कि छैन भन्नेमा समीक्षा गर्नुपर्छ,’ उनले भनिन्, ‘पत्रकारिताको आत्मालाई जीवन्त बनाउन खोज पत्रकारिताबारे पत्रकारको क्षमता अभिवृद्धि गर्नु उचित छ ।’

महासंघ इलाम शाखा अध्यक्ष विप्लव भट्टराईले इलामको पत्रकारितालाई थप सशक्त बनाउन तालिम आयोजना गरिएको जानकारी दिए ।

इलाम, झापा र पाँचथरका करिब ३० पत्रकार सहभागी तालिमको सहजीकरण नेपाल पत्रकार महासंघको पूर्वअध्यक्षसमेत रहेका खोप पत्रकारिता केन्द्रका पूर्वअध्यक्ष तथा अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँलेले गरिरहेका छन् । तालिम फागुन १४ सम्म चल्ने महासंघ इलाम शाखा सचिव भीम चापागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय