तीन जिल्लाका तीस पत्रकारलाई इलाममा ‘खोज पत्रकारिता तालिम’

द्वारा प्रकाशित गरिएको हो |
२०८० फाल्गुन १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलाम– इलामको माईजोगाई गाउँपालिकामा खोज पत्रकारिता तालिमको समापन भएको छ । गाउँपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ इलामले आयोजना गरेको चार दिवसीय तालिमको सोमबार समापन गरिएको हो । इलाम, झापा र पाँचथरका करिब ३० पत्रकार सहभागी तालिमको सहजीकरण नेपाल पत्रकार महासंघको पूर्वअध्यक्षसमेत रहनुभएका खोज पत्रकारिता केन्द्रका पूर्वअध्यक्ष तथा अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँलेले गर्नुभएको थियो ।

प्रशिक्षक गाउँलेले जिम्मेवार र जबाफदेही पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ । पत्रकारिता समाजलाई सही बाटोमा अघि बढाउने सशक्त माध्यम पनि भएकाले पत्रकार र पत्रकारितालाई सबल, गुणस्तरीय र विश्वसनीय बनाउन सबैले प्रयत्न गर्नुपर्नेमा उहाँको जोड थियो । ‘खोज पत्रकारिता तालिम’ लाई सहजिकरण गर्दै उहाँले गहन अध्ययन र अनुसन्धानबिना गरिएको पत्रकारिताले समाजमा भ्रम छर्नसक्ने जोखिमसमेत रहेको बताउनुभएको छ ।

तालिम समापनसत्रमा बोल्दै माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले सञ्चार जगतले समाजलाई मार्गदर्शन गर्नुपर्ने बताउनुभयो । ‘अहिले केही मिडिया र प्रायः सामाजिक सञ्जालमा सकारात्मकभन्दा नकारात्मक सामग्री बढी भाइरल भएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘गलत सूचनाले सयौं सही सूचना लुकाइरहेको देखिन्छ । त्यसैले पत्रकारितालाई थप जिम्मेवार र जबाफदेही बनाउनुपर्छ ।’ थेबेले देशमा भइरहेका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

गाउँपालिका उपाध्यक्ष प्रविना राईले समाचार, सूचना सम्प्रेषणमा पत्रकारहरू गम्भीर भइदिँदा सबैलाई असल अभ्यासमा अघि बढ्न सहयोग हुने बताउनुभएको छ । ‘कसैले राम्रो योजनाले, राम्रो लक्ष्यले काम गरिरहेको छ भने उसलाई सञ्चार क्षेत्रले हौसला दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘गलत काम गर्नेको कर्तुत पनि बाहिर ल्याउनुपर्छ तर त्यसको प्रभाव चाहिँ सकारात्मक पर्नेगरी सञ्चार गर्नुपर्छ ।’ उहाँले माइजोगमाई गाउँपालिकामा पनि सयौं सकारात्मक विषयवस्तु ओझेलमा परिरहेको बताउनुभएको छ ।

महासंघ इलाम शाखा अध्यक्ष विप्लव भट्टराईले इलामको पत्रकारितालाई थप सशक्त बनाउन तालिम आयोजना गरिएको जानकारी दिनुभएको छ । पत्रकारितालाई मर्यादित र खोजमूलक बनाउन पत्रकारलाई समय–समयमा क्षमता विकास र पुनर्ताजगी तालिम आवश्यक रहने भएकाले महासंघले यस्ता कार्यक्रम गर्दै आएको अध्यक्ष भट्टराईले बताउनुभएको छ ।

तालिमको तेश्रो र चौथो दिन सहभागीले खोज पत्रकारिताका लागि माईजोगमाईको नयाँबजार,जौबारी, मेघमा,तुम्लिङ लगायतका क्षेत्रमा पुगेर स्थलगत रिपोर्टिङ समेत गरेका थिए । सिकेका शैद्धान्तिक कुरालाई ब्यवहारमा उतार्न र समाचारको माध्यमबाट पर्यटकीय क्षत्रहरुको प्रचारप्रसार हुनेगरि स्थलगत सहभागलिाई फिल्डमा लगिएको नेपाल पत्रकार महासंघ इलामका सचिव भिम चापागाईले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय