मनोज अधिकारी
इलाम,११फागुनः माईजोगमाई गाउँपालिका–२ खोल्मेका ५८ घर–परिवारले पाँच सय चालिस् रोपनी क्षेत्रफलमा खेती गर्छन् । अलैँची,आलु,मकै,अकबरे लगायतका विभिन्न कृषि उपज उत्पादन गर्न सिंचाई अभाव खेप्दै आएका खोल्मेबासीलाई अब राहात मिलेको छ । तीन तहका सरकारको ६० प्रतिशत, स्वीस सरकार विकास सहयोग मार्फत तीस प्रतिशत र दश प्रतिशत स्थानीय जन सहभागितामा एक हजार तीन सय त्रिपन्न दशमलव ४५ मिटर लामो सिंचाई कुलो निर्माणे भएपछि खेतीमा सहजता भएको किसानले बताएका छन् ।
पुस्तौँदेखि खेतीको लागि आकासे पानीको भरमा बिताउँदै आएका स्थानीय कुलोको पानी बारीसम्म आएपछि उत्साहित भएका हुन् । तीन तहका सरकारले बजेट विनियोजन गरेर कुलो निर्माणमा सहयोग गरी दिएपछि उनीहरुलाई सजिलो भएको हो । सिँचाइ कुलोबाट पानी आउने भएपछि यसवर्ष समयमा बाली लगाउन पाईने भन्दै स्थानीय सुक बहादुर लेप्चाले खुसी ब्यक्त गर्नुभयो । धेरै खेतीयोग्य जमिन भएपनि सिँचाइको व्यवस्था नहुँदा कतिपय जमिन बाँझिदै गएको अवस्थामा कुलो निर्माणले प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ छ । ‘सिँचाइ कुलो नहुँदा खेतीयोग्य जमिन बाँझै छोड्नुपर्ने अवस्था थियो’, किसान लेप्चाले भन्नुभयो,‘वर्षौबाट आकासे पानीको भरमा खेती गर्दै आएका थियौँ । कुलो सञ्चालनमा आउने भएपछि हामीलाई अब सजिलो भयो ।’
५२ लाख ३५ हजार नौ सय ८६ रुपैयाँ १७ पैसामा बजुरा खोला राई गाउँ, लेप्चा गाउँ, निगाले गाउँ सिंचाई योजनाको काम अन्तिम चरणमा पुगेसंगै यहाँका किसानमा उत्साह देखिएको हो । उपभोक्ता समितिका अध्यक्ष प्रदिप खड्काका अनुसार कात्तिक २२ गते सम्झौता भई सुरु भएको कुलो निर्माणको काम ०८१ बैशाख मसान्त सम्ममा सम्पन्न हुनेछ । ‘८०५ मिटर दुई तर्फी ढलान र छ सय मिटर पाईप लाईन बिछ्याउने काम गरिन्छ ।’ खड्काले भन्नुभयो,‘चार महिला र पाँच पुरुष गरि नौ जनाको उपभोक्ता समिति छ, पानी ल्याएर गाउँलाई हरियाली बनाउने उर्जा लिएर सबैजना खटिरहनुभएको छ ।’
खेती गरेर जिविकोपार्जन गरिरहेका यहाँका किसानलाई सिंचाई नहुँदा उत्पादनमा कठिनाई थियो । ‘आकासे बर्षा पर्खिएर, पोखरीमा पानी जमाएर दुःखले सिंचाई भएपनि फरहर पानी नहुँदा भनेजस्तो उत्पादन लिन सकिरहेका थिएनौँ ।’ निगालेका पलमान राईले भन्नुभयो । कुलो निर्माणले स्थानीयवासीको दैनिकीमा परिर्वतन आएको उनिहरु बताउँछन् । सिंचाइको व्यवस्था भएपछि किसान व्यावसायिक तरकारी खेतीको तयारीमा लागेका छन् । ‘सिंचाइपछि हाम्रो दैनिकीमा नै परिवर्तन आएको छ, तरकारी उत्पादन गरेर बजारसम्म लगेर बिक्री गरेर आम्दानी लिनेगरि अब ढुक्कले खेती गर्छौँ ।’ किसान राईले भन्नुभयो । खेतबारीसम्म पानी आएपछि खेतीको काम गर्न उत्साह थपिएको उहाँको भनाई छ । योजनाबद्ध रुपमा काम गरेकोले थोरै बजेटमा पनि उपलब्धिमूलक काम भएको छ । ‘हामी किसानको पक्षमा सरकारले गरेको काम सराहनीय छ’, उहाँले भन्नुभयो, ‘यहाँका स–साना काम पनि प्राथमिकतामा राखेर काम गरिरहेको अवस्था छ । कृषि क्षेत्रमा सरकारले गरिरहेको कामले हामीलाई सहज भएको छ ।’
यो क्षेत्र खेतीको लागि उपयुक्त भूगोल रहेकाले यहाँको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष प्रविना राईले बताउनुभयो । प्रशस्त उर्वरभूमि रहेपनि सिंचाइको राम्रो व्यवस्था नहुँदा समस्या रहेकोले खोल्मेमा सिंचाइको काम भईरहेको उहाँको भनाइ छ । ‘हाम्रो पालिका कृषिको लागि अत्यन्तै उर्वरभूमि हो’, उपाध्यक्ष राईले भन्नुभयो, ‘सिंचाइको अभावमा त्यसबाट लाभ लिन नसकिएको अवस्था पनि छ । पालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । अहिले हामीले यहाँ भूगोल अनुसारको बालीमा जोड दिएका छौँ ।’ वडाले पनि योजनाको बजेट विजियोजन गर्दा स्थानीयवासीको आवश्यकताको आधारमा गर्ने गरेको उहाँको भनाइ छ । किसानलाई आर्थिक पक्षमा जोड्दै उनीहरुको अवस्था सुधारमा भूमिका खेलिरहेको उहाँले बताउनुभयो ।
सिंचाइको विकास गर्दै गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यसाथ काम भईरहेको गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेले बताउनुभयो । किसानलाई व्यावसायीक कृषिमा जोड्न सिंचाइ समस्या हटाउन विभिन्न ठाउँमा योजनाबद्ध रुपमा काम भइरहेको छ ।‘हाम्रो गाउँपालिकाको धेरै ठाउँमा पिउने पानी तथा सिंचाइको समस्या छ’, पालिकाअध्यक्ष थेबेले भन्नुभयो,‘हामीले यसको योजनाबद्ध विकास थालेका छौँ । कतिपय ठाउँको समस्या हल भएको छ । कृषिको क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ । हाम्रो लक्ष्य नै गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने भन्ने छ ।’