इलाम,०२चैतः सूर्योदय नगरपालिका–४ श्रीअन्तुका भक्त बागदासको चिया पसलका भित्ताभरि सुन्दर आकृतिहरुको सजावट छ । श्रीअन्तु,सन्दकपुर र कन्यामको सौन्दर्य मात्र होईन साहित्यकार,राजनीतिज्ञ र कलाकारहरुको तस्विर दुरुस्तै बनाएर भित्ता सजाईएको छ । स्व.वि.पि कोईराला,कलाकार स्व.यम बुद्ध(र्यापर) ,राजेश पायल राई आदि चर्चित अनुहार आफैँ बनाएर चिया पसल सजाएका भक्तसंग जो–कसैको आकृति बनाउने कलात्मक खुबी छ ।
‘बनार्ईएका आकृतिलाई श्रीअन्तुमा स्टल राखेर बिक्री गर्ने गरेको छु ।’ बागदासले भने, ‘चित्राकार भएर के गर्नु प्रचार छैन, बनाउँछ भन्ने थाहा पाएकाले अर्डर गरेर लैजान्छन्, नत्र सामान्य मात्र बजार छ ।’ बाल्यकालबाट नै शृजनात्मक चेत भएका भक्तले आकृति खिप्न थालेको दशकौँ बित्यो । तर, दुरदराजको प्रतिभाले बजार पाएन । कन्याम जन्मथलोबाट सिलाईबुनाई गर्दै चिया पसल चलाउन श्रीअन्तु पुगेका भक्तले आफ्नो कलालाई ब्यवसायिक बनाउन थालेको भने केहि बर्ष मात्र भएको छ । ‘सानैदेखि रुचि थियो, बनाईरहेर होला आफँै आउन थाल्यो । तर, बिक्री गर्न सुरु गरको चै चार–पाँच बर्ष हुँदैछ ।’
भक्तलाई चित्रकला सम्बन्धी कुनै औपचारिक ज्ञान र सीप छैन । विभिन्न प्रकारका चित्रहरू बनाउनका लागि भक्तसँग कुनै प्रविधिको साथ र साधनहरू पनि छैनन् । तर उनले बनाएका निकै सुन्दर र कलात्मक चित्रहरू देखेर सर्वसाधारणहरू दङ्ग पर्ने गरेका छन् । आफ्नो अघि कुनै देवी देवता, भगवान, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै चित्र बनाउने भक्तको कलाले सबैलाई मोहित पार्ने गरेको छ । सानैदेखि चित्रकलामा निकै रुचि भएका उनि अहिले अब्बल चित्रकारको रूपमा परिचित हुँदै गएका छन् ।
उनले आकृति बनाएर पाँच सय देखि पाँच हजारसम्ममा बिक्री गर्छन । पर्यटकीय गन्तब्यको काखमा बसेर पर्यटकीय क्षेत्रहरुको सौन्दर्यतालाई तस्विरमा उतार्ने भक्तलाई सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्ने अपेक्षा छ । ‘कसैको सहयोग छैन । मैले बनाएका तस्विरले बजार पाउनेभए,यहाँको पर्यटनमा प्रचारप्रसार बढ्थ्यो होला,एक्लो प्रयासले के गर्ने सर ।’ उनले भने,‘आश्वासन चैँ सबैले बाँड्नु भएको छ अझैपनि सहयोगको आशा मरेको छैन’
तालिम तथा औपचारिक ज्ञान र साधन विनै यति राम्रो चित्रहरू बनाउने भक्त बागदासको क्षमता देखेर आफूहरू दङ्ग परेको स्थानीय प्रदिप गिरिले बताए । उनले सरकारले यस्ता प्रतिभालाई आफ्नो कला देखाउने अवसर दिनुपर्ने र यसतर्फ सरोकारवालाहरूको ध्यान जानुपर्ने बताए । बागदासले देवी देवता, भगवान, कलाकार, ठाउँहरुको चित्र बनाउने गरेका छन् । उनलाई स्थानीयले मात्रै होइन सरकारले नै उचित अवसर दिएर सहयोग गर्नसके देशलाई नै ठूलो फाइदा हुने खड्काले बताए । कुनै राम्रो अवसर पाए भक्त्ले चमत्कारी कला देखाउन सक्ने सम्भावना रहेको उनले बताए । व्यावसायिक रूपमा चित्र निर्माणमा लगाउन सके अरुलाई पनि रोजगारीको अवसर सिर्जना गर्न सकिने वडाध्यक्ष सरन राईको भनाइ छ । भक्त पनि यस्तै अवसरको खोजीमा छन् ।