श्रीअन्तुमा कृषि र पर्यटनबाट आर्थिक समृद्धि खोज्दै छौँः वडाध्यक्ष राई

द्वारा प्रकाशित गरिएको हो |
२०८० चैत्र २, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मनोज अधिकारी
इलाम,०३चैतः करिब ८० प्रतिशत भु–भाग चियाले ओगटेको श्रीअन्तु सूर्योदय नगरपालिका–४ मा पर्छ । आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यो क्षेत्र चिया उत्पानको उर्वर भुमि हो । श्रीअन्तु बाहेक यस वडाका भित्रि गाउँहरुमा पनि चिया,अलैँची,अम्रिसो लगायतका खेतीहरु गरिन्छ भने पशुपालन ब्यवसायमा प्रायः किसान आबद्ध छन् । स्थानीय सरकारले कृषिमा आधुनिकिकरण,सडक सञ्जालको स्तरउन्नति,स्वास्थ्यमा सुधार, शैक्षिक क्षेत्रको विकास गर्न ठुलो लगानी गरेपछि यहाँको जनजीवनमा सुधार आएको वडाध्यक्ष सरन राई बताउनुहुन्छ । वडाको समग्र विकास निर्माण र आर्थिक समृद्धि हाँसिल गर्न वडा कार्यालयले गरिरहेका प्रयासका सम्बन्द्धमा वडाध्यक्ष सरन राईसंग गरिएको संवादको सम्पादित अंशः

तपाईको वडाका अधिकांश किसान कृषि पेशामा आबद्ध छन् । कृषिको अवस्था कस्तो छ? किसानलाई ब्यवसायिक र चिया उत्पादनलाई गुणस्तरीय बनाउन के गर्दै हुनुहुन्छ?
हाम्रो पहिलो प्राथमिकता नै कृषि हो । यहाँका किसान चिया खेतसिंगै गाईपालनमा ब्यवसायिक बन्न खोजिरहेका छन् । तर, पछिल्लो समय चैँ दुग्ध उत्पादनको बजार अभावले समस्या छ । नगरप्रमुखको पहलमा बजार खोज्ने काम भैरहेको छ । नगरपालिका नै लागेको छ । अर्को महत्वपुर्ण कृषि उत्पादन चिया हो । यहाँको करिब ८० प्रतिशत भु–भागमा चिया खेती छ । कोरोना कहरयता किसान सिथिल नै छन् । तयारी चियापनि उद्योगमै थन्किएको छ । चियामा पनि बजारको समस्या छ । किसानलाई प्राङ्गारिक खेतिमा आकर्षित नगरि विश्व बजारमा हाम्रो उत्पादन बिक्री नहुने अवस्था छ । आउँदो बजेटमा चिया सुधारका लागि कार्यक्रम बढी बनाएर काम गर्ने तयारी छ । विषादीयुक्त चियालाई निरुत्साहित गर्ने र टिपाईमा सुधार ल्याएर उत्पादनलाई गुणस्तरीय बनाउने उद्धेश्यले नगरपालिकाले पनि हाते मेसिन वितरण गरिरहेको छ । यस प्रकारका कार्यक्रम आउँदो बजेटमा हामी वडामा पनि ल्याउने प्रयास छ ।

अलवेदर सडकको स्थिति के छ? टोल टोलका शाखा सडकहरुको स्तरउन्नति कसरी गर्दै हुनुहुन्छ?
अलवेदर रोड पाँच किलोमिटर यस आर्थिक बर्षमा कम्लिट भैसकेको छ । यस बाहेक प्रदेश,संघ मार्फत बनिँदै गरेका सडकहरु निर्माण भैसक्दा दश किलोमिटर करिब सडक पक्किरुपमा तयार हुन्छ । भौगोलिक रुपमा ठुलो भएका कारण शाखा बाटोहरु बनाउन समय लागेको हो । तथापि सबै सडकमा पक्कि नालि र ग्राबल गर्ने काम हुँदैछ । वडामा उत्पादित कृषिजन्य सामाग्रीहरु बजारसम्म पुर्याउन बाटोको दुःख खासै छैन । सबैभन्दा तल्लो भेग सल्लेरी टोलमा एक करोड २५ लाखको ठेक्का मार्फत काम भैरहेको छ । यो सम्पन्न भएपछि धेरै सहजता थपिने आशा राखेका छौँ ।

यहाँका नागरीकले आधारभुत स्वास्थ्य उपचार वडामै पाउँछन्?
हाम्रा वडाको आधारभुत स्वास्थ्य चौकी चैँ जिल्लाकै उत्कृष्ठ घोषणा भएको हो । हाल यहाँ ल्याब सञ्चालन भैरहेको छ । चालिस ओटा जति ल्याबको सुविधा सेवाग्राहीहरुलाई दिईरहेका छौँ । ल्याबका लागि थप कर्मचारि आफ्नै आयश्रोतले राखेका छौँ । यहाँ सम्भव नभएका बिरामीको उपचार गर्न फिक्कल,झापा विर्तामोडमा यहिँबाट रेफर दिने काम गरेका छौँ । हामीलाई सरकारी अस्पतालमा सेवा राम्रो छैन भन्ने मानसिकता मात्र छ । तर, सुधार गरेर हाल सुविधासम्पन्न अस्पतालहरुमा कम खर्चमा हुने उपचारमा विश्वास नहुँदा मोटो रकम खर्चिनु परेको छ ।

विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न के प्रयास भएका छन्?
विकासको पहिलो खुड्किलो नै स्वास्थ्य र शिक्षा हो । कम लगानीमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन सकियो भने नागरीकलाई राहात हुन्छ भन्ने सोचाईले काम गरिरहेका छौँ । नीजि लगानी गरेर खर्चिलो हुने होईन । राज्यले लगानी गरेका सामुदायीक विद्यालयमा विद्यार्थी आकर्षित गर्न सामुदायिक विद्यालयहरुको पठन–पाठन र गुणस्तरमा सुधार ल्याउन हामीले प्रयत्न गरिरहेका छौँ । विद्यालयमा लाईब्रेरी,कम्प्युटर, इ–हाजिरी जस्ता सुविधासम्पन्न उपकरण भएपछि र क्वालिटिका शिक्षकहरु हुँदा पनि पढाई राम्रो भएन भनेर गुनासो गर्ने होईन । अभिभावकले पनि निगरानी राख्ने, खबरदारी गर्ने गरेर राज्यको लगानीलाई उत्पादनमुखी बनाईनुपर्छ । यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।

श्रीअन्तु पर्यटकीय गन्तब्य हो । तर, आजकाल पर्यटकीयस्थलहरुमा अतिथि सत्कार हराउँदै गयो भनेर गुनासो छ । पर्यटन प्रवर्धन गर्न केके गर्दै हुनुहुन्छ?
धेरथोर अन्तुमा महँगाईका गुनासा, अतिथि सत्कार वा अन्य सेवामा गुनासा नआएका होईनन् । तर, हाम्रो वडामा सामान्य घरबास देखि चारतारे होटलसम्मको सेवा प्रवाह छ । हाल आन्तरिक मात्र पर्यटक आउँछन् । बाह्य पर्यटक कम छन् । आएका पर्यटकहरु थोरै पैसामा धेरै मनोरञ्जन लिने वा सेवा लिने मनसायका हुन्छन् । आर्थिक क्राईसेसको दृश्टिकोणले हेर्दा यो सामान्य हो । हामीले होटलहरुको हस्पिटालिटिमा गुनासो आएपछि हामिले अनुगमन पनि गर्यौँ । फर्किएका पर्यटकको गाडी रोकेर कहाँ बस्नुभयो? सेवा कस्तो भयो? के कमजोरी पाउनुभयो ? भनेर पनि सोध्ने गरेका छौँ । उहाँहरुको प्रतिकृयाका आधारमा होटल सञ्चालकहरुलाई सम्झाउने गरेका छौँ । होटलमा अनिवार्य मेनु राख्न लगाएका छौँ । अब चाँडै श्रीअन्तु पर्यटन महोत्सव हुँदैछ । पर्यटन प्रवर्धन गर्न त प्रयास जारी ।

के गर्दा वडा समृद्ध हुन्छ भन्ने लाग्छ? आफ्नो कार्याकालमा केके काम गर्ने हुटहुटी छ?
कृषि र पर्यटनलाई सुधार गरेर आर्थिक समृद्धि ल्याउने यात्रामा हामी छौँ । हाम्रा समृद्दिका यी दुर्ई दरिला आधार हुन्् । पुर्वाधार निर्माण गरेर काम देखाउने होईन । उत्पादन वृद्धि गरेर,किसानलाई आर्थिक उपार्जनको बाटोमा ब्यवसायिक बनाउन,यहाँको पर्यटनलाई सदाबहार चलायमान बनाउने वातावरण तयार पार्न सँके भने म आफ्नो उपलब्धि ठान्नेछु । सम्भावना नदेखेर विदेशिएका युवालाई यहिँ रोक्ने प्रयास सफल भयो भने म आफ्नो उपलब्धि ठान्नेछु । त्यस्कै लागी मेरो दौडाहा छ ।

ब्यस्त समय दिनुभयो धन्यवाद!
धन्यवाद!

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय