मनोज अधिकारी
इलाम,०८चैतः हिन्दु धर्मावलम्बीहरुको परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गरेको प्रचलन रहेको पाइन्छ । बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा अझै पनि यो समाजमा रहँदै आएको छ । तर पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ ।
त्यस्तै समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेका छन् इलामका पुनम अधिकारी कार्कि र उनका बहिनिहरु कल्पना अधिकारी कार्की,सुनी अधिकारी मगर र कान्छी हेमकुमारी अधिकारी । स्व. बुवा भविन्द्र अधिकारीको गत फागुन ३० गते निधन भएपछि चार जना छोरी र आमा अनन कुमारी सामुहिक क्रियामा बसेका हुन् । हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै उनिहरु क्रिया बसेका छन् । सूर्योदय नगरपालिका–१२ का भविन्द्रको ८१ बर्षमा निधन भएपछि छोरीहरु क्रीया बसेको स्थानिय रमेश भट्टराईले बताउनुभयो ।
महिलाहरु किरियाकर्ममा बस्न नपाउने भनि शास्त्रमा कहिँ उल्लेख नभएको कर्म गराईरहनुभएका याङका पण्डित सोमनाथ घिमिरेले बताउनुभयो । छोराछोरी बराबरी भएको भन्दै बुवाआमाको काजक्रीया छोराहरुले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिबर्तन ल्याउनका लागि आफुहरु बुवाको काजमा बसेको जेठी छोरी पुनमले बताउनुभयो । निधन भएका अधिकारीको चैत १२ आईतबार गते सुद्धिकार्य हुने पारिवारिक श्रोतले बताएको छ।