बौद्धधाममा महिलाहरुको क्षमता विकास सम्बन्धी तीन दिने उद्घोषण तालिम सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०८० चैत्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामको सूर्योदय नगरपालिका–३ बौद्धधाममा महिलाहरुको क्षमता विकास सम्बन्धी तीन दिने उद्घोषण तालिम सुरु भएको छ । वडा कार्यालयको सहयोगमा महिला उत्थान समिति बौद्धधमले आयोजना गरेको तालिमको उद्घाटन मंगलबार वडाध्यक्ष लोक बहादुर प्रधानले गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष प्रधानले महिलालाई नेतृत्व तहमा अघि बढाउन वाक कलाको क्षमता अभिवृद्धि गराउन लगानी गरिएको बताउनुभयो । उहाँले औपचारिक कार्यक्रममा समयको पालना गर्ने कुरामा सरोकारवाला संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।

ग्रामीण क्षेत्रका महिलामा बोल्ने कला विकास गर्न तालिम आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष राधिकार राईले बताउनुभयो । ‘आफूलाई लागेका कुरा निर्धक्क राख्न नपाउँदा महिला समाजमा पछि परिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘महिलालाई समाजको अगुवाका रूपमा स्थापित गर्न र उनीहरूको नेतृत्व क्षमतासमेत बढाउन तालिम आयोजना गरिएको हो ।’

बौद्धधाम मा.विका प्रधानाध्यापक किरन मोक्तानले जुनसुकै पेसा–व्यवसायमा आधारभूत ज्ञान र सीप आवश्यक पर्ने बताउनुभयो । ‘उद्घोषकले पनि आधारभूत ज्ञान र सीप लिएर काम गर्दा व्यावसायिक बन्न सघाउ पुग्छ,’ उहाँले भन्नुभयो ।

१५ जनाभन्दा बढीको सहभागिता रहेको तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ, इलाम शाखा सचिव एवं नागरिक दैनिकका संवाददाता भीम चापागाईं र राष्ट्रिय समाचार समिति(रासस) समाचारदाता एवं अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका इलाम प्रतिनिधि मनोज अधिकारीले गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय