इलाम,१७चैतः नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले इलाम क्षेत्र २ उपनिर्वाचनमा एमाले उम्मेदवार नै निर्वाचित हुने दाबी गर्नुभएको छ । ‘निर्वाचन जित्न एमालेलाई धेरै कुराले सहज छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा एमालेको भूमिका, जनाधार र उम्मेदवारकै कारण हामी यसपटक पनि इलाम–२ मा चुनाव जित्छौं ।’
उहाँले सत्ता गठबन्धन दलको साझा उम्मेदवार बनाउनेबारे छलफल भइरहेको पनि बताउनुभएको छ । इलाम सदरमुकाममा पार्टी नेता–कार्यकर्तासँगको भेटमा ज्ञवालीले सनिवार यस्तो बताउनुभएको हो ।
उपमहासचिव ज्ञवालीले एमालेको देशभक्तिपूर्ण कार्य सारा नेपालीलाई थाहा भएको भन्दै पार्टीको लोकतन्त्रप्रतिको निष्ठा र स्वाधीनताको लडाइँमा एमाले नेतृत्वको सरकारको भूमिका पनि उपनिर्वाचन विजयीका लागि बलियो आधार भएको बताउनुभयो ।
‘अहिले पार्टीको आन्तरिक एकता बलियो छ, एमालेमाथिको चौतर्फी घेराबन्दीसमेत तोडेर हामी नागरिकको सेवामा खटिएका छौं,’ उहाँले भन्नुभयो, ‘इलाम क्षेत्र २ मा दिवंगत नेता सुवासचन्द्र नेम्बाङले देख्नुभएको सपना पूरा गर्ने जिम्मा पनि हाम्रै भएकाले यस पटक एमालेलाई मतदाताले जिताउनुहुनेछ ।’
ज्ञवालीले एमाले अहिले कुनैपनि स्वार्थबिना सरकारमा सहभागी भएको बताउनुभयो । ‘यसअघिको गठबन्धनबाट सरकारले नागरिकका अपेक्षा र आवश्यकता पूरा गर्न नसक्ने देखिएपछि गठबन्धन परिवर्तन भएको छ,’ उहाँले भन्नुभयो, ‘यसमा हाम्रो पार्टीको कुनै स्वार्थ छैन, देशमा फैलिन लागेको निरासा अन्त्य गर्नु, आर्थिक सूचक आशलाग्दो बनाउनु र परराष्ट्र सम्बन्ध सुधार्न एमाले सरकारमा सहभागी भएको छ ।’
एमाले नेता सुवासचन्द्र नेम्बाङको गत भदौ १६ मा निधन भएपछि इलाम–२ को प्रतिनिधिसभा निर्वाचन क्षेत्र रिक्त छ । आउँदो वैशाख १५ मा यहाँ उपनिर्वाचन हुँदैछ । एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ ।₋₋₋