इलाम,२३चैतः आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा निर्वाचनको अघिल्लो दिन (वैशाख १४) सम्ममा १८ वर्ष उमेर पूरा भएका सबै मतदाताले मतदान गर्न पाउने भएका छन् । यो व्यवस्था अहिलेसम्मको नयाँ भएको निर्वाचन आयोगका आयुक्त जानकी तुलाधरले बताउनुभएको छ ।
निर्वाचन आयोगले यो व्यवस्थापछि वैशाख १४ गते १८ वर्ष पूरा भएका सबै मतदाताले वैशाख १५ गते मतदान गर्न पाउने जनाएको हो । निर्वाचन आयोगका आयुक्त तुलाधरका अनुसार यसपटकको निर्वाचनका लागि इलाम क्षेत्र २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । ०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनयता इलाम निर्वाचन क्षेत्र न.२ मा ४ सय २२ जना मतदाता थप भएका छन् ।
आयुक्त तुलाधरले शान्तिपूर्ण र सभ्य ढंगले नमुनाकै रूपमा यहाँ उपनिर्वाचन गराउने बताउनुभएको छ । उहाँले उपनिर्वाचनका लागि आवश्यक सबै संयन्त्र तयारी अवस्थामा रहेको पनि जनाउनुभयो ।
इलाम क्षेत्र २ मा इलाम र देउमाई नगरपालिका, माई नगरपालिकाका वडा ६, ७, ८, चुलाचुली, माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकाका गरी जम्मा ४२ वटा वडा पर्छन् । यहाँ ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र छन् भने यी मतदान केन्द्रमा आठ सय ९४ कर्मचारी खटिँदैछन् ।
तीन हजार सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएको छ । ‘सुरक्षा ब्यवस्था मजबुद बनाउँछौँ ।’ यादवले भन्नुभयो, ‘उपनिर्वाचन सफल बनाउन सुरक्षाको दृष्टिकोणबाट हामी संवेदनशिल छौँ ।’
उपनिर्वाचनका लागि इलाम सदरमुकाममा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नेपाल बार एसोसिएसनको भवनमा कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन कार्यतालिकाअनुसार चैत २२ मा यो कार्यालय स्थापना गरिएको हो । कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । अन्तिम नामावली प्रकासन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम चैत २७ लाई राखिएको छ । चैत २८ देखि वैशाख १२ सम्म प्रचारअवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । आउँदो उपनिर्वाचनका लागि २० दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।