इलाम,२३चैतः इलाम क्षेत्र नं २ को आसन्न उपनिर्वाचनप्रति नेपाली राजनीतिको ध्यान तानिएको छ । मतदाताले खोजेको युवा उम्मेद्वार चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।
नेकपा (एमाले)ले दिवंगत नेता सुवासचन्द्र नेम्वाङको गहकिलो विरासत थाम्न अधिवक्ता सुहाङ नेम्वाङलाई चुनावी मैदानमा पठाएपछि नेकपा माओवादी केन्द्रले पनि सुहाङलाई नै समर्थन गरेर साझा उम्मेद्वार बनाएको छ ।
नेपाली राजनीतिमा ‘सुवास’ छरेर अस्ताएका संविधानसभा अध्यक्ष स्व. नेम्वाङका लोकपृय छवी र विरासत सुहाङले थाम्नेमा ठुला कम्युनिष्ट शक्ती विश्वस्त देखिन्छन् ।
एमाले इलामका सचिव उमेश गुरुङले भने, ‘इलामका जनताले इतिहासलाई मुल्याङ्कन गर्नेछन् । कमरेड सुवासले कठिन भौगोलिक अवस्थाका बावजुत ल्याएका परिवर्तन र विकासको लयमा पुगेको इलामलाई समृद्ध बनाउन सुहाङको जित अनिवार्य छ ।’
३२ वर्षे सुहाङ एक अधिवक्ता र पार्टीको केन्द्रीय कानुन विभाग सदस्य हुन् । एमाले र माओवादीले इलाममा चुनावी गतिविधि तिव्र बनाएको छ । मतदाताका घर₋घरमा पुगेर योजना सुनाउन एमाले उम्मेद्वार सुुहाङ ब्यस्त छन् ।
‘नेपाली राजनीतिमा बुवाको अधुरो सपना पुरा गर्न र इलामलाई समृद्ध बनाउन म राजनीतिमा आएको हुँ ।’ घरदैलो कार्यक्रम लिएर इलाम नगरपालिका₋८ महमाईमा शुक्रबार पुगेका सुहाङले मतदातासंग भने, ‘मलाई बुवाले गर्न नपाएका बाँकी काम पुरा गर्नुछ, इलामलाई समृद्ध बनाउने हुटहुटी छ । युवा पुस्ताको हौसला र अग्रजको भरोसा सम्झिएर काम गर्नेछु, एकपटक अवसर चैँ दिनुहोस् ।’
कतिपयले बुबाकै क्षेत्रमा छोरालाई उम्मेदवारका रूपमा ल्याउनुलाई ‘वंशवाद’को संज्ञासमेत दिईरहेका छन् । तर, उनी जितको संघारमा रहेको बताउँदै निर्वाचित भएपछि इलामलाई आर्थिक उन्नतिको दिशामा सफल बनाएर विरोधीहरुलाई कामले जवाफ दिने बताउँछन् । ‘पार्टीले धेरैथोक आँकलन गरेरै मलाई टिकट दिएको होला, टीका लगाएर सांसद बनाएको होइन, पार्टीले मलाई अरूसँग प्रतिस्पर्धा गर्न पठाएको हो,’ उनले भने, ‘म बुवाको सपना पुरा गर्छु । इलामको समस्या निराकरण गर्न कुनै कसुर बाँकी राख्दिन ।’
छोटो समयमा नै सुहाङले इलामका तन्नेरी पुस्ता देखि पाको पुस्तासम्मको ध्यान खिचेका छन् । बोलिमा स्व. बुवाको विनम्रता दुरुस्तै झल्किने सुहाङलाई भेटेर फोटो खिचाउन १७ बर्षे युवा–युवती देखि ७० बर्षीया वृद्ध–वृद्धाको लर्को छ । एक वृद्धले भने, ‘ठ्याक्कै सुवास कमरेडको याद आयो । उहाँको अभाव पुरा गर्नु बाबु ।’ गहभरि आँशुका ढिक्का खसाल्दै अङ्गालोमा सुहाङलाई कसेका ती वृद्धले सुवास नभएको भए इलाम कालापानी जस्तै हुने बताए । ‘सायद उहाँ नहुनुभएको भए हाम्रो जिल्ला कर्णाली हुन्थ्यो । कालापानी हुन्थ्यो । अब सुखी इलाम बनाउने अभिभारा तिमिले पाउँदैछौ ।’
चुनावको सरगर्मी बढेको इलाम क्षेत्र नं २ मा नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार मतदाताको घर–घरमा पुगेर मत माग्न ब्यस्त भैरहँदा नेपाली कांग्रेसले बिहिबार मात्र उम्मेद्वार टुंगो लगाएको छ । ०७९ को आम निर्वाचनमा यस क्षेत्रबाट एमालेसंग थोरै मतान्तरले पराजित नेपाली कांग्रेसले लामो कसरतपछि बिहिबार उम्मेद्वारको टुंगो लगाएको हो ।
पार्टी जिल्ला सभापति डम्बर खड्कालाई कांग्रेसले उम्मेद्वार बनाएको छ । खड्का सहित जिल्लाबाट सात जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिएको थियो । स्व. नेता नेम्बाङले एक सय १४ मतान्तरले उछिन्दा अघिल्लो चुनावमा हार ब्यहोर्नुपरेका खड्का यसपटक पार्टीले आँफैलाई टिकट दिएपछि जित प्राप्त गर्ने दौडमा छन् । ‘सुबास दाईले नै पनि केही बढी मतले मात्र मलाई हराउनुभएको हो । मैले जित्ने पक्का जस्तै अवस्था छ । अब त पार्टीले मलाई नै अघि सारेको छ ।’ खड्काले भने ।
रास्वपाले पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आईतबार औपचारिक उम्मेद्वार घोषणा गरेपछि चुनावी प्रचारमा गाउँ पसेको छ । उम्मेदवार मिलन लिम्बू मतदाताका घर–घरमा पुगेर पुरानैलाई भोट हालेर नयाँ परिवर्तन आशा गर्न नसकिने बताईरहेका छन् । ‘पुरानै पार्टी, पुरानै झन्डा, पुरानै नेता र पुरानै चुनाव चिह्न रोजेर नयाँ परिवर्तन आशा गर्न हुँदैन,’ उनले भने, ‘अब यो वाद र त्यो वादका पक्षमा लड्ने कि इलामलाई बनाउन, देश बनाउन लड्ने ? कुनै दल, उम्मेदवारको विरुद्ध लड्ने होइन, परिवर्तनका लागि, जनताका लागि लड्ने बेला आएको मतदातालाई सुनाए ।
डेढ दशकदेखि पत्रकारितामा क्रियाशील रास्वपाका मिलन इलामकै माङ्सेबुङ गाउँपालिकाका बासिन्दा हुन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को महासचिव थिए । नेकपा (माओवादी)निकट पत्रकारको संस्था प्रेस सेन्टर नेपालमा रहेका लिम्बूले केही साताअघि आफू कुनै पार्टीमा नभई स्वतन्त्र रहेको घोषणा गरेका थिए । उनी आफूलाई यो निर्वाचन क्षेत्रको ‘माटोको उम्मेदवार’ दाबी गर्छन् । ‘म यो माटोको उम्मेदवार हुँ,’ उनले भने, ‘अहिलेको युवा पुस्ताको भरोसाले म चुनाव जित्छु भन्ने लाग्छ ।’ उनले आफ्नो निर्वाचन क्षेत्र वर्षाैंदेखि पछि परेको भन्दै यहाँको विकासको नेतृत्व आफूले गर्न चाहेको सनाए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इलाम जिल्ला कमिटीले इलाम क्षेत्र २ को उपनिर्वाचनमा धिरेन शर्मा रमणलाई उम्मेदवार बनाउन सोमबार प्रदेशमा सिफारिस गरेको भएपनि । पार्टीले एमाले उम्मेद्वारलाई सघाउन निर्देशन दिएपछि आकांक्षी उम्मेद्वार रमण नै सुहाङ जिताउ अभियानमा सकृय छन् ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्लामा पार्टीले माईजोगमाई गाउँपालिकाका पूर्व अध्यक्ष जित बहादुर राईलाई उम्मेद्वार उठाएको छ । पार्टीको जिल्ला सचिवालय सदस्य राई २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट पालिका अध्यक्ष विजयी बनेका थिए । ०७९ सालको निर्वाचनमा पनि तत्कालीन गठबन्धनबाट अध्यक्षकै उम्मेदवार भएका उनी एमाले उम्मेदवार कुशबहादुर थेबेसँगै पराजित भए । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय राईले राष्ट्रिय युवा संघमा पनि लामो समय काम गरिसकेका छन् ।
कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले ६८ वर्षे डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएका छन् । विभिन्न ४१ संस्थाले उनलाई साझा उम्मेदवार बनाएका हुन् । किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खासहितका संस्थाले उनलाई समर्थन गरेका छन् । थेगिम कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै आन्दोलनरत अभियानका अध्यक्ष पनि हन् । २०३४ सालदेखि शिक्षण पेसामा रहेका थेगिम २०६३ देखि ०७२ सालसम्म स्रोतव्यक्ति भए । एमालेमा आबद्ध उनले उम्मेदवार बन्ने भएपछि केही साताअघि एमाले त्यागेको घोषणा गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार बनाएको लक्ष्मी गुरुङ ०५६÷०५७ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ, मरब क्याम्पसको अध्यक्ष हुन् । ०६४÷०६५ सालमा राप्रपा युवक संगठन अध्यक्ष भएका उनी त्यसपछि पार्टी जिल्ला सदस्य हुँदै ०७८ सालयता केन्द्रीय शिक्षा विभाग सदस्य हुन । यो क्षेत्रमा पहिचानवादीकै दाबी गर्दै प्रेमदीप लिम्बूले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
०७९ को निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बन्नुभएको थियो । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत प्राप्त गर्नुभएको थियो । रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याउनुभएको थियो । समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याएका थिए ।