इलाम,२५चैतः आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउने सबै उम्मेद्वार पुरुष छन् । शुक्रबार २० उम्मेदवारले मनोनयन दर्ता गराउँदा महिलाको संख्या शून्य देखिएको हो ।
१२ दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन गर्दा महिलाको संख्या शून्य पाईएको हो । विभिन्न दल र स्वतन्त्र उम्मेदवार पञ्चैबाजा र ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
ठुला राजनीतिक दलहरुको उम्मेद्वार छनोटमा महिला प्राथमिकतामा नपर्ने गरेकोप्रति महिला अधिकारकर्मीहरुले गुनासो गरेका छन् । ‘महिलालाई सँधै पछि पार्ने चलन छ ।’ इलामकी महिला अधिकारकर्मी गायत्री थेगिमले भन्नुभयो, ‘इलामको उपनिर्वाचनमा महिलाको उम्मेद्वार शुन्य हुनुले नेतृत्व तहमा महिला सहभागिता ओझेलमा रहेको प्रष्ट पारेको छ ।’
झापा विर्तामोड निवासी महिला अधिकारकर्मी भिमा शिवाकोटीले अधिकार पुस्तकमा महिलालाई समेटिएपनि ब्यवहारमा अगाडी बड्ने अवसर नदिने प्रचलन खराब भएको बताउनुभयो । ‘इलाममा एउटा पदका लागि २० जनाले नेतृत्व तहमा आउन चाहँदा महिलाले नचाहेको होईन महिलाहरुलाई कसैले अवसर नदिएको समस्या उजागर भएको छ ।’
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङलाई मैदानमा ल्याएका छन् । सुहाङलाई नेपाल कम्युनिस्ट पार्टीले समेत समर्थन गरेको छ । नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्काले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन् ।
राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत यस अघि नै तोकिसकेको छ । इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् ।
निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ । चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदान समय तोकिएको छ ।
वैशाख १५ गते इलाम क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ। संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।