इलामः इलाम सदरमुकामबाट सञ्चालित पालिकापेजडटकमका सम्पादक भीम चापागाईं सम्मानित भएका छन् । इलाम नगरपालिका–५, बरबोटेस्थित दुर्गा आधारभूत विद्यालयले ३५औं वार्षिकोत्सव अवसरमा पत्रकार चापागाईंलाई सम्मान गरेको हो ।
विद्यालयले गरेका नयाँ र अनुकरणीय अभ्यासलाई विभिन्न मिडियामा सम्प्रेषण गरी योगदान गरेवापत् उनलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक जितबहादुर कार्कीले बताए । दुई दशकयता पत्रकारितामा क्रियाशील चापागाईं नेपाल पत्रकार महासंघ इलाम शाखाको सचिवसमेत हुन् । उनी १० वर्षदेखि नागरिक दैनिकमा पनि आबद्ध छन् ।
‘यो विद्यालयले गरेका गतिविधि मिडियामार्फत् छाएपछि देशभरका विभिन्न विद्यालयले हाम्रो अभ्यास अनुकरण गरेका छन्,’ प्रअ कार्कीले भने, ‘धेरै विद्यालयले हामीसँग अनुभव सोधीखोजी गरे, कतिपय ठाउँमा म आफैं पुगेर अनुभव सेयर गर्ने मौका पाएँ ।’
केही वर्षअघि यो विद्यालय जिल्लाकै नमुना विद्यालय घोषित थियो । त्यतिमात्र होइन, विद्यालय र स्थानीय आमा समूहको सक्रियतामा ‘जंक फुड’ निषेध गरी गाउँघरमै उत्पादित खाजा विद्यार्थीलाई खुवाउन थालेपछि चर्चामा आएको थियो ।
विद्यालयको व्यवस्थापन अनुकरणीय भएपछि प्रअ कार्की देशका विभिन्न विद्यालय पुगेर यहाँका अनुभव साटासाट गरिरहेका छन्।
वार्षिकोत्सव अवसरमा विद्यालयलाई शिक्षाका माध्यमबाट योगदान गर्ने पूर्वस्रोतव्यक्ति देवी गौतमलाई पनि सम्मान गरिएको छ । विद्यालयलाई सहयोग गर्ने बरबोटे घर भइ युके निवासी रमेश गुरुङ ९पदम० र विद्यालयकै शिक्षिका भूमिका गौतम भट्टराईलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ ।
इलाम नगरपालिका प्रमुख केदार थापाको प्रमुख आतिथ्य र विद्यालय अध्यक्ष विश्वनाथ भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा आमा समूह, शिक्षक–शिक्षिका र विद्यार्थीले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।