इलामः इलाम क्षेत्र नं २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । ०७९ सालको निर्वाचनमा यो क्षेत्रमा एमाले नेता सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाको एक हजार तीन सय ८० मत आयो ।
कांग्रेसका खड्काले ल्याएको मत तत्कालीन सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा ९एकीकृत समाजवादी०लगायत सबैको हो । तर, एमाले त्यसबेला एक्लै चुनाव लडेर एक सय १४ मतको अन्तरले गठबन्धनलाई जितेको थियो ।
प्रत्यक्षमा रुखमा भोट हालेको माओवादीले समानुपातिकमा पाँच हजार एक सय ५३ मत ल्यायो । प्रत्यक्षमा रुखमै भोट हालेको नेकपा ९एस०ले पनि समानुपातिकमा पाँच सय ८६ मत पायो । समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याए ।
कांग्रेस उम्मेदवार खड्काले ल्याएको मतमा तत्कालीन गठबन्धनका दल माओवादी र नेकपा ९एस०ले समानुपातिकमा ल्याएको मत घटाउने हो भने एमाले उम्मेदवारसँग झन्डै छ हजार मतको अन्तर छ । आउँदो निर्वाचनमा पहिलाको जस्तै मत खस्ने हो भने माओवादीसँग गठबन्धन गरेको एमालेको मत कांग्रेसको भन्दा पाँच हजार बढी हुनेछ । र, अहिले एमाले उम्मेदवारलाई नेपाल कम्युनिस्ट पार्टीले समेत समर्थन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी आफ्नो करिब दुई हजार मत भएको दाबी गर्छ ।
एमाले आफ्नो तीन दशकदेखिको विरासत जोगाउन जोडतोडले लागेको देखिन्छ । ‘०७९ सालमा अरू सबै दल अर्कापट्टि हुँदा पनि एमाले एक्लैले जितेको यो क्षेत्रमा अब हामी अघिल्लो निर्वाचनभन्दा सहज हिसाबले चुनाव जित्नेछौं,’ एमाले उम्मेदवार सुहाङ नेम्बाङ भन्छन्, ‘यसपटक एमाले एक्लै पनि छैन ।’