इलाम– सबै मतदाताले मतदान गर्न पाउने वातावरण सिर्जना गर्न इलामका सरोकारवालाले माग गरेका छन् । कोशी प्रदेशस्थित राष्ट्रिय मानवअधिकार आयोगको आयोजना र नेपाल पत्रकार महासंघ, इलाम शाखाको समन्वयमा इलाममा आयोजना गरिएको ‘इलाम २ को उपनिर्वाचनमा मानवअधिकारको अवस्था’ विषयक छलफलमा सरोकारवालाले यस्तो धारणा राखेका हुन् ।
जिल्ला बार एसोसिएसन अध्यक्ष तारानाथ पराजुलीले निर्वाचन आयोगले मात्र नभएर दलहरू आफैंले मतदाता शिक्षा दिन जरुरी रहेको बताए । कार्यक्रममा मानवअधिकार मञ्च नेपालका निर्देशक देवेन्द्र विश्वकर्माले यो उपनिर्वाचनमा बालबालिकाको प्रयोगलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने बताए ।
‘यसपटक पनि उम्मेदवारी मनोनयनमा बालबालिकाको प्रयोग गरेको देखियो । कुनै पनि ढंगले कतै पनि बालबालिकाको प्रयोग गर्नुहुँदैन भन्ने दलहरूले बुझ्न सक्नुपर्छ,’ उनले भने ।
राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधि प्रकाश चापागाईंले यो निर्वाचनमा करिब दुई हजार मतदाता अपाङ्गताको स्थितिमा रहेको बताए । चापागाईंले यी सबै मतदाताले आफैं मत खसाल्न सक्ने अवस्था नरहेको भन्दै इच्छाएको व्यक्तिलाई मत खसाल्न दिनुपर्ने पहिलो आवश्यकता रहेको बताए ।
‘अघिल्ला निर्वाचनमा अपाङ्गतामैत्री मतदान केन्द्र नभएकाले अपाङ्गता भएका व्यक्तिलाई समस्या भएको थियो । यो पटक निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयले विशेष ध्यान दिन जरुरी छ,’ चापागाईंले भने, ‘मतदान केन्द्रभित्र जहाँसम्म पुग्न सक्छन्, यस्ता अशक्त, अपाङ्गता भएका व्यक्तिलाई मतदान अधिकृत त्यहीं आएर मत खसाल्न दिनसक्ने व्यवस्था मिलाउन सक्नुपर्छ ।’
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका पूर्वउपाध्यक्ष सोमनाथ सुसेलीले दलहरूले चुनाव प्रचार गरिरहँदा उनीहरूले प्रयोग गरेको माइक र त्यसको आवाजले समाजमा असर गरेको भन्दै त्यसमा सचेत हुनुपर्ने बताए । उनले आचारसंहितामा ध्यान दिन दलहरूलाई आग्रह गरे ।
महासंघ इलाम शाखा सचिव भीम चापागाईंले मतदानस्थल र मतगणनामा समेत सञ्चारकर्मी र पर्यवेक्षकलाई आवश्यक पर्ने सूचना पाउन, आवश्यक फोटो खिच्न सहज बनाइनुपर्ने बताए । ‘अघिल्ला निर्वाचनमा मतदानस्थल र गणनास्थलमा रिपोर्टिङ गर्न असहज भएका घटना थिए,’ उनले भने, ‘यो उपनिर्वाचनमा पत्रकारले आचारसंहिताभित्रका काम गर्न सहज बनाइनुपर्छ ।’
नेकपा ९एमाले० जिल्ला उपाध्यक्ष उदय राई, नेपाली कांग्रेस जिल्ला सचिव निरोज खड्गी, राप्रपा इलामका प्रवक्ता गोपाल पौड्याललगायतले आउँदो निर्वाचनलाई आफ्ना पार्टीको तर्फबाट सभ्य ढंगले सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश कार्यालय प्रमुख पवनकुमार भट्टले यो उपनिर्वाचनका विषयमा प्रमुख निर्वाचन अधिकृत, जिल्ला सुरक्षा निकाय, निर्वाचन कार्यालयसँग छलफल गरिसकेको बताए ।
‘अघिल्ला निर्वाचनलाई हेर्दा दलहरूले अशक्त, ज्येष्ठ नागरिकलाई मतदानस्थलसम्म लैजाने र मत खसालेपछि त्यहीं अलपत्र छाडिदिने गरेको पाइएको थियो,’ भट्टले भने, ‘मतदानस्थल रहेका विद्यालयका शौचालयमा निर्वाचनको दिन ताला लगाएर छोड्ने गरेको पनि पाइयो ।’