इलामः इलामका दुई क्रियाशील पत्रकार पुरस्कृत भएका छन् । आशिष स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार विक्रम सुन्दास ९तिलविक्रम दर्जी० र क्रियाशील पत्रकार महिला पुरस्कारबाट पत्रकार रीता राराहाङ राई पुरस्कृत भएका हुन् ।
मेची क्षेत्रका एक उदीयमान पत्रकारलाई प्रदान गरिने आशिष पुरस्कार यो वर्ष सुन्दासलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ, इलाम शाखाले हरेक वैशाख १ मा यो पुरस्कार प्रदान गर्ने गरेको छ ।
सूर्योदय नगरपालिकाको अन्तुडाँडामा आयोजित समारोहमा मेयर रणबहादुर राई, उपमेयर दुर्गाकुमार बराल, नेपाल पत्रकार महासंघ, प्रदेश समितिका कार्यवाहक अध्यक्ष लवदेव ढुंगानालगायतले पुरस्कृत सुन्दास र राईलाई सम्मान गरे ।
सुन्दास इलामकै चियाबारी एफएममा काम गर्दै अहिले फिक्कलबाट प्रसारण भइरहेको रेडियो बुद्धवाणी एफएमका समाचार शाखा प्रमुख छन् । महासंघ इलाम शाखाले सुन्दासलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।
इलामका पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा महासंघले पुरस्कार कोष स्थापना गरी हरेक वर्ष इलाम, झापा, पाँचथर र ताप्लेजुङका एक पत्रकारलाई पुरस्कृत गर्नेगरेको छ ।
पत्रकार राईको २०५९ साल वैशाख १ मा दुर्घटनामा निधन भएको थियो । क्रियाशील महिला पत्रकार पुरस्कार पाउने पत्रकार राई करिब डेढ दशकयता पत्रकारितामा क्रियाशील छिन् । इलामको रेडियो नेपालवाणी एफएम, फिक्कल एफएम, इलाम एफएम, कान्तिपुर एफएम हुँदै उनी अहिले काठमाडौंको इन्डिजिनियस टिभी र इटहरीको सप्तकोशी एफएममा कार्यरत छिन् ।
पत्रकारितामा महिलालाई प्रोत्साहन गर्न शाखाले तीन वर्षअघि क्रियाशील पत्रकार महिला पुरस्कार स्थापना गरेको हो ।