इलाममा उदाउन खोज्दै रास्वपा

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलाम क्षेत्र २ मा रास्वपाका मिलनकुमार लिम्बू उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा जाने प्रचार गरिरहेका लिम्बूलाई रास्वपाले उम्मेदवार बनाएको हो । २०७९ सालको निर्वाचनमा प्रत्यक्षमा एक हजार तीन सय ८० मत ल्याएको रास्वपा यो पटक विजयी बन्ने दाबीसहित चुनावी मैदानमा होमिदैछ ।

लामो समय एमालेले विजय हासिल गरेको यो क्षेत्रमा विकास निर्माणको नारा लिएर रास्वपा इतिहास बनाउने योजनामा देखिन्छ । उम्मेदवार मिलन भन्छन्, ‘देशलाई सुुशासन र समृद्धिपथमा लैजाने रास्वपाको अभियानमा इलामबासीले साथ दिनुहुनेछ,’ उनले भने, ‘लामो समयदेखि एउटै दलमा मतदान गरिरहेका मतदाताले यो पटक हामीलाई अवसर दिएर विजयी बनाउनुहुनेछ ।’

इलाम क्षेत्र २ मा तीन दशकदेखि एमालेले नै विजय हासिल गरिरहेकाले यहाँका मतदाताले हत्तपत्त नयाँ चुनावचिह्न नरोज्नेमा एमालेमात्र होइन, कांग्रेससमेत ढुक्क छ । यसको फाइदा एमाले र कांग्रेसले नै आशा गरेका छन् ।

तर, केही युवापंक्तिमा अहिले एमालेले सुवास नेम्बाङकै छोरा सुहाङलाई टिकट दिनु र कांग्रेसभित्र ठूलो पंक्ति असन्तुष्ट रहँदारहँदै पनि खड्काले नै टिकट पाउनुको फाइदा लिने दाउमा छ रास्वपा । ‘पुराना दलमा असन्तुष्ट युवाको संख्या धेरै छ,’ मिलन भन्छन्, ‘ती युवाले पनि एकपटक परीक्षण गर्ने रास्वपालाई नै हो ।’

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि १२ दल र सात स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा विप्लव, नेपाल परिवार दलका साझा उम्मेद्वार सुहाङ नेम्बाङ,नेपाली कांग्रेसका डम्बर बहादुर खड्का, पहिचान पक्षधरका उम्मेद्वार डकेन्द्र सिंह थेगिम, जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत० समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन् ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय