हरेक दिन भोट माग्दा शोक सहन्छन् सुहाङ

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्बाङको निधन भएको छ महिना वित्यो । उनको निधनपछि रिक्त इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदका लागि यहि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उनलाई तीन दशकयता लगातार संघिय सांसदमा पटक–पटक जिताएका मतदातालाई यो निर्वाचनमा उत्साहा कम शोक बढी छ ।

नेकपा एमालेले स्व.नेम्बाङका कान्छा छोरा सुहाङलाई उम्मेद्वार बनाएपछि नेकपा माओवादी केन्द्र सहित नेकपा विप्लव र नेपाल परिवार दलले समेत समर्थन गर्यो । सुहाङ निरन्तर घरदैलो अभियानमा छन् ।

हरेक दिन मतदाताको घरमा पुग्ने गरेका उनलाई मतदाताले बावु सम्झाउँछन् । कोही अंकमाल गर्दै भावुक बन्छन् । कसैले अतित सम्झिएर आँशु खसाल्छन् । कतिलाई सम्झाउँछन् सुहाङ । कहिले आफैँ नजवाफ बन्छन् ।

फाकफोकथुम गाउँपालिका–७ एकतप्पाका अमृतबहादुर मगरले मंगलबार बिहान आफ्नो घरमा भोट माग्न आएका सुहाङ नेम्बाङलाई स्वागत गरे । स्वागत गर्दा खुसी देखिएका मगर भलाकुसारी सुरु नगर्दै भक्कानिए, ‘कति काम सुरु गरेको थियो । पुरा गर्न नपाउँदै गयो मेरो साथि ।’ मगरले भने,‘अब इलामले उ जस्तो अभिभावक पाउन सक्दैन ।’

सुहाङलाई तिमीले बावुको सपना पुरा गर्नु भनिसक्दा मगरको बोलि रोकियो । भकभक गर्दै आँशु खसाले । मगरलाई सम्झाउँदै अन्य सहभागिले विगतलाई भुल्न भने । तर, छेउमै बसेका सुहाङ बोल्न सकेनन् । बावुको सम्झनाले उनलाई पनि भावुक बनायो । गहभरि आँशुका ढिक्का खसाल्दै मगरलाई अंगालो हालेका सुहाङलाई बावुको यादले खुब सताएको देखिन्थ्यो । धेरैबेर माहोल शान्त भयो । मगर सुकसुक गरिरहे । सुहाङले आँशु पुच्छे ।

मगरको रोदनले सुवास मात्र सम्झिएको थिएन । निर्विरोध दुई पटक संविधानसभा अध्यक्ष भएर मुलुकमा संविधान जारी गरेका उनले इलामको प्रतिष्ठा उचाईमा पुर्याएको सम्झिएको थियो । सुवासले तीन दशकमा ल्याएका आमुल परिवर्तन । सुरु गरेका योजना र विकट इलामको विकासको सुरुवात पुरा गर्न नपाउँदै अस्ताएको दुखान्त विगतको झल्कोले मगरको मन रुवाएको थियो ।

‘हरेकदिन फरक मतदाताले कुनै न कुनै बहानामा बावुको चर्चा सुरु गर्दा यादले सताईरहन्छ ।’ सुहाङले भने, ‘यति धेरै जनताको साथ,माया र भरोसा पुरा गर्न नपाउँदै बुवा वित्नुभयो । मलार्ई इलामलाई नमुना इलाम बनाउँन मन छ । इलामलाई समृद्ध बनाउने बुवाको अधुरो सपना साकार बनाएर श्रद्धाञ्जलि अर्पण गर्न मन छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय