ओलि भन्छन्, जित्ने सुहाङले हो,अरुले किन दुःख गर्नु ?

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

इलाम,०५वैशाखः पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गतेको उपनिर्वाचनपछि संघिय संसदमा एमालेका एकजना सांसद थपिने वाला रहेको बताउनुभएको छ ।

‘देश बनाउने शंकल्प बोकेको युवा सुहाङले इलाम २ बाट संसदमा प्रतिनिधित्व गर्ने तयारी लगभग पुरा हुन लागेको छ ।’ ओलिले भन्नुभयो, ‘अब चुनाव बाँकी होला । तर, जित सुनिश्चित भैसक्यो । हाम्रो एकजना सांसद थपिने वाला छ ।’

आज (बुधबार) देउमाई नगरपालिका–४ मंगलबारे बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो । अन्य उम्मेद्वारप्रति कटाक्ष गर्दै ओलिले दुःख नगर्न आग्रह गर्नुभयो । ‘जित्ने सुहाङले हो । फोकटमा किन दुःख गर्नुहुन्छ ।’

सुहाङ सुवासका छोरा मात्र नभएर कानुनमा मास्टर गरेका बौद्धिक युवा भएकाले एमालेले उम्मेद्वार बनाएको उहाँले बताउनुभयो ।

निराशा र अन्योलताको स्थितिमा एमालेको नेतृत्वमा देशले संविधान पाएको बताउँदै ओलिले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई सम्झनुभयो । ‘संविधान निर्माणमा होस् वा कार्यान्वयनमा सुवास जी ले अतुलनिय भुमिका खेल्नुभएको छ ।’ उहाँले भन्नुभयो, ‘अब सुहाङलाई जिताएर पठाउनुहोस् । उहाँको जिम्मा एमालेले लिन्छ । म लिन्छु । इलामका योजना पूर्ण गर्न सुहाङ आएका हुन् ।’

किरात धर्म गुरु आत्मानन्द लिङ्देनलाई राष्ट्रिय विभुति एमालेले बनाएको भन्दै ओलिले एमालेलाई पहिचान विरोधी भनेर अपवाह फैलाईएको बताउनुभयो । ‘हाम्रा मुन्धुम विदेशबाट बोकेर ल्याएका चिज होईनन् । सबैको धर्म,विश्वास र आस्थाप्रति सम्मान गर्नुपर्छ ।’ उहाँले भन्नुभयो,‘बहुजाति, बहुभाषा र बहु संस्कृति भएको देशमा बसेर एकल जातिय पहिचानको राजनीति गर्न लाज हुनुपर्छ । एमाले धर्म निरपेक्षताको वकालत गर्छ ।’

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २ इलामले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न ओली हिजो (मंगलबार) इलाम आउनुभएको थियो ।

सभामा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले एकल जातीय पहिचानको कुराले जातिय सद्भावलाई खण्डन गर्ने बताउनुभएको छ । उहाँले एकल जातिय पहिचानको नारा गलत भएको बताउनुभयो । ‘एकल जातिको मात्र पहिचान स्थापित गर्ने एजेण्डा गलत छ । यसले जातिय सदभाव र राष्ट्रिय एकतामा खलल ल्याउँछ ।’ बादलले भन्नुभयो, ‘अहिले केही जातीय अधिकार र जातीय पहिचानको कुरा गर्नेहरू आएका छन् । उनीहरूका एकल कुराले देशको विकास हुँदैन देशको विकासका लागि सबैको अधिकार सुनिश्चित हुनु पर्छ ।’ उहाँले देश सबै धर्मालम्वीहरुको भएको बताउनुभयो । सबै धर्म मान्नेहरूको खुन पसिनाले यो देश बनेकाले एमालेले धर्म निरपेक्ष राज्य स्वीकार गरेको उहाँको भनाई छ ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङ् मिक्सोले बामपन्थीहरुको एकताले मात्रै समृद्ध नेपाल सुखी नेपाली बन्ने सक्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई बचाउन इलाम २ बाट सुहाङ नेम्बाङलाई जिताएर पठाउनु पर्ने बताउनुभयो । ‘यो एउटा झिल्को हो यो झिल्कोलाई सबै तिर पु¥याउनु पर्छ ।’ उहाँले भन्नुभयो, ‘सुहाङलाई जिताउनु भनेको देशमा समृद्धिको झिल्को सबै तिर फैलनु हो ।’ उहाँले कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनका लागि सुहाङलाई जिताउनु पर्ने बताउनुभएको छ । ‘अहिले देशमा विकास र समृद्धि चाहिएको छ । समृद्धिका लागि बामपन्थीहरुको एकता आवश्यक छ ।’ उहाँले भन्नुभयो ।

सभामा एमाले उम्मेद्वार सुहाङ नेम्बाङ, एमाले सचिव योगेश भट्टराई र कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठलगायत एमालेका केन्द्रीय, प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्नुभयो ।

वैशाख १५ मा इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदैछ । एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलबाट साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ चुनावी मैदानमा हुनुहुन्छ ।

२०७९ सालमा भएको निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट विजयी हुनुभएको थियो । नेम्बाङले ३० हजार २० र तत्कालीन सत्ता गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत प्राप्त गर्नुभएको थियो भने रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याउनुभएको थियो ।

समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत प्राप्त गर्नुभएको थियो ।

अहिले एमाले, माओवादीलगायत चार दलको गठबन्धन हुँदा कांग्रेस एक्लै भिड्दैछ । कांग्रेसका डम्बरबहादुर खड्का नै अहिले पनि उम्मेदवार हुनुहुन्छ । उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू, पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार बन्नुभएको छ ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय