एमाले अध्यक्ष ओली दोस्रोपटक इलाम आउँदै

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः नेकपा एमाले इलाम–२ मा आफ्नो विरासत जोगाउन मतदाताको घरघरमा पुगिरहेको छ । ०४८ पछिको एक निर्वाचनबाहेक सातवटा निर्वाचनमा यस क्षेत्रबाट एमाले विजयी हुँदै आएको छ । जसमध्ये पनि पाँचवटा निर्वाचनमा त सुवासचन्द्र नेम्वाङ लगातार निर्वाचित भए । नेम्वाङको विरासतलाई थाम्न एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ ।

सुहाङको पक्षमा मतदाता आकर्षित गर्न एमालेका शीर्ष नेताहरू पनि इलाममा मत माग्न व्यस्त छन् । उम्मेदवारसँगै एमाले नेतृ शिवमाया तुम्बाहाम्फेले इलामका विभिन्न ठाउँमा मत मागिन् । यसअघि इलामको मंगलबारेमा भएको चुनावीसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापालगायतका शीर्ष नेता पुगेका थिए । एमाले अध्यक्ष ओली बुधबार चुलाचुलीमा हुने चुनावीसभालाई सम्बोधन गर्न इलाम आउने कार्यतालिका रहेको एमालेले जनाएको छ ।

इलाममा माओवादी केन्द्रको उम्मेदवार छैन । उसले एमालेका उम्मेदवार सुहाङलाई सहयोग गरेको छ । माओवादीले पनि इलाम पार्टीका उपमहासचिव हरिबोल गजुरेल, केन्द्रीय सदस्य साबित्रीकुमार काफ्ले, रञ्जित तामाङलगायतलाई सुहाङको पक्षमा भोट माग्न पठाइसकेको छ ।

‘हामी उम्मेदवारलाई जनताका बीचमा पुर्‍याइरहेका छौँ । इलाम नगरपालिका सकेर माई नगरपालिका जाँदै छौँ । हामीले हाम्रा उम्मेदवारलाई सबै ठाउँमा जनताको बीचमा पुर्‍याएका छौँ । अरू साथीहरू आफ्नो ठाउँमा टोलटोल र घर–घरमा जाने काम गरिरहनुभएको छ । बुधबार चुलाचुलीमा आमसभा राखेका छौँ,’ एमालेबाट इलाम निर्वाचनमा खटाइएकी नेतृ शिवमाया तुम्बाहाम्फेले भनिन्, ‘हामीले युवा उम्मेदवार उठाएर राम्रो गरेका छौँ । सुहाङलाई अगाडि बढाउँदा युवा उत्साहित छन् । तल जाँदा लिगेसीले काम गरेको छ । हिजो सुवास नेम्वाङलाई मन पराउने, नजिक हुने र उहाँलाई सम्झनेले सुहाङलाई राम्रो प्रतिक्रिया दिनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय