चियाको समस्या समाधान खोज्न प्रधानमन्त्रीलाई आग्रह

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलाम, नेपाल–भारत सीमा झापाको काँकडभिट्टा–पानीट्यांकीमा नेपाली तयारी चिया रोकिएपछि इलामका चिया उद्योगीले चिया समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

केही दिनयता तयारी चिया बोकेका नेपाली गाडी भारतीय सीमामा रोकिएपछि त्यसको प्रत्यक्ष असर किसान, व्यवसायीलाई परेको छ । चियामा समस्या आएपछि काठमाडौं पुगेका व्यवसायीले मंगलबार प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेका गरेका हुन् ।

सातायता निकासीका लागि पुगेका करिब ३५ ट्रक रोकिएपछि समस्याको समाधान सरकारी तवरबाटै हुनुपर्ने व्यवसायीको माग छ । भारतीय पक्षले प्रत्येक पटक प्रत्येक गाडीको गुणस्तर परीक्षण हुनुपर्ने भन्दै सीमामै तयारी चियाका ट्रक रोकेको छ । भारतीय पक्षले केही वर्ष यता पटक–पटक यसरी नेपाली चिया रोक्ने गरेको व्यवसायीको भनाइ छ ।

पहिलो टिपाइको सबैभन्दा गुणस्तरीय चिया यसरी रोकिएपछि चिया क्षेत्रमा संकट आएको इलामको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसन सचिव गोपाल कट्टेल बताए ।

‘आज हामीले प्रधानमन्त्रीलाई नै भेटेर समस्या जाहेर गरेका छौं । प्रधानमन्त्रीले भारतीय राजदूतमार्फत् अथवा आफैं पनि भारतीय पक्षसँग कुराकानी गर्ने आश्वासन दिनुभएको छ,’ कट्टेलले भने, ‘यो समस्या नयाँ होइन, केही वर्षयता चियाको मुख्य सिजनमा भारतले नेपालीलाई दुःख दिने गरेको छ । यो समस्या केन्द्रीय सरकारबाट उच्चस्तरीय छलफलपछिमात्र समाधान हुनसक्छ ।’

केही दिनअघि इलाम आएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि इलामका चिया व्यवसायीले चियाको समस्याका विषयमा जानकारी गराएका थिए ।

मंगलबारै अर्का पूर्वप्रधानमन्त्री खनाललाई समेत चिया व्यवसायीले चियाको समस्या समाधानको पहल गर्न आग्रह गरेको कट्टेलले जानकारी दिए ।

नेपाली चियाको गुणस्तर परीक्षण गर्न कोलकाता जानुपर्ने झन्झट छ । गुणस्तर परीक्षण गर्न करिब साता कुर्नुपर्छ । यो प्रक्रिया झन्झटिलो भएकाले सरकारले चियाका सबै अवरोध हटाउने गरी भारत सरकारसँग सम्झौता गर्दामात्र चिया निकासीको समस्या दीर्घकालीन रूपमा समाधान हुनसक्ने गोर्खा टी स्टेटका सञ्चालक तथा नेपाल टी प्लान्टर एसोसिएशन अध्यक्ष उदय चापागाईं बताउँछन् ।

इलाम र पाँचथरबाट निकासी हुने अर्थोडक्स चिया प्रायः नासा, आइओएमजस्ता अन्तराष्ट्र्रिय संस्थाबाट अर्गानिक प्रमाणीकरण भएर निकासी हुने गरेको पनि व्यवसायीको भनाइ छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको नौ महिनामा दुई अर्ब १८ करोड ८९ लाख २२ हजार रुपैयाँ बराबरको ९८ लाख चार हजार ११ किलो चिया निकासी भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ६६ करोड ५४ लाख १८ हजार रुपैयाँ मूल्यको एक करोड ३३ लाख ११ हजार ३ सय ४८ किलो चिया निकासी भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय